सेवा प्रवाहमा सुधार गर्न गृहमन्त्री गुरुङको निर्देशन

शनिबार धनकुटा आइपुगेका गृहमन्त्री गुरुङले प्रशासन, प्रहरी तथा सरकारी कार्यालयका शाखाहरूको निरीक्षण गर्दै सेवा प्रवाह सुधारको निर्देशन दिए ।

असार २१, २०८३

रमेशचन्द्र अधिकारी

Home Minister Gurung directs to improve service delivery

धनकुटा — धनकुटामा शनिबार र आइतबार २ दिन बिताएका गृहमन्त्री सुधन गुरुङले सेवाग्राहीसँग प्रत्यक्ष फोन सम्पर्क गर्नुका साथै सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् । उनले प्रहरी प्रशासन तथा कर्मचारीबाट सेवाग्राहीलाई गरिने व्यवहार तथा भूमिकाबारे जानकारी लिएका छन् । 

विद्यालयस्तरको पढाइका क्रममा धनकुटामा केही वर्ष बिताएका उनले आफन्त, साथीसंगी र शिक्षकहरूसँग भेटघाटदेखि प्रसिद्ध निशान मन्दिर दर्शन एवं जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन समेत भ्याए । 

गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको विशेष गरेर मुद्दा फाँटलगायत सुशासन र न्याय सम्पादनसँग जनसरोकार राख्ने शाखा निरीक्षण गरेका छन् । प्रहरी प्रशासनले सेवाग्रहीलाई दिने सेवा छिटोछरितो र चुस्तदुरुस्त बनाउन धनकुटा जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिए । 

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय निरीक्षण गर्ने क्रममा गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत तीनै तहका सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं कर्मचारीलाई संयुक्त रुपमा निर्देशन दिएका थिए । शनिबार राति धनकुटा आइपुगेका गृहमन्त्री आइतबार दिउँसो धरान फर्किएका छन् । उनले आइतबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समेत निरीक्षण गरेका थिए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully