फिदिम–१३ स्थित लुङ्गरुपा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सुरु भएपछि स्थानीय गर्भवतीलाई प्रसूति सेवाका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।
What you should know
पाँचथर — फिदिम नगरपालिका–१३ लुङरुपाको जल्पामा सञ्चालित लुङ्गरुपा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
फिदिम नगरपालिकाको दुर्गममा रहेको लुङ्गरुपामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो । अब यस क्षेत्रका गर्भवतीले अब सामान्य प्रसूतिका लागि सदरमुकाम फिदिम धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
फिदिम–१३ र १४ को संगमस्थलमा रहेको स्वास्थ्य चौकीमा आइतबार नगरप्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण नेउपानेले बर्थिङ सेन्टर उद्घाटन गरे ।
लुङ्गरुपा भौगोलिक रूपमा नगरपालिकाकै दुर्गम बस्तीमध्ये पर्छ । यहाँबाट प्रसूति गराउन फिदिम अस्पताल पुग्न घण्टौं लाग्ने भएकाले गर्भवतीले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए । सवारीसाधन सहज नपुग्ने र आकस्मिक अवस्थामा समयमै उपचार नपाउँदा जोखिमसमेत बढ्ने गरेको स्थानीयको अनुभव छ ।
गत मङ्सिरमा समयमै प्रसूति सेवा नपाउँदा यसै क्षेत्रकी एक महिलाको मृत्यु भएपछि लुङ्गरुपामै बर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने माग बढेको थियो । त्यसयता नगरपालिकाले स्वास्थ्य चौकीमा आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर प्रसूति सेवा सुरु गरेको हो ।
उद्घाटनपछि नगरप्रमुख काफ्लेले दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने नीति अनुरूप बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए । नगरपालिकाका अनुसार बर्थिङ सेन्टरबाट सामान्य प्रसूति, गर्भावस्थाको नियमित परीक्षण, सुत्केरी सेवा र नवजात शिशुको प्रारम्भिक हेरचाह उपलब्ध हुनेछ । जटिल अवस्था देखिए बिरामीलाई रेफर गरिने व्यवस्था गरिएको छ ।
फिदिम १३ का वडाध्यक्ष दिलकुमार नेम्वाङले बर्थिङ सेन्टर सञ्चालनसँगै वर्षौंदेखिको माग सम्बोधन भएको बताए । उनका अनुसार यसले विशेषगरी वर्षायाम र रातिको समयमा प्रसूति गराउन अस्पताल पुग्नुपर्ने जोखिम कम गर्नेछ ।
यहाँबाट अब २ जना नर्सिङ कर्मचारी र एक जना सिनियर अहेबले प्रसूति सेवा दिने पक्का भएका छन् । बर्थिङ सेन्टरमा आवश्यक पर्ने सबै उपकरण उपलव्ध गराइएको नगरपालिकाले जनाएको छ ।
