संखुवासभा जिल्ला अस्पतालमा दूरबिन विधिबाट पित्तथैलीको सफल शल्यक्रिया

अस्पतालका अनुसार शुक्रबार गरिएको यो शल्यक्रिया जिल्ला अस्पतालमा दूरबिन विधिबाट गरिएको दोस्रो केस भए पनि पत्थरीको आकारका हिसाबले निकै जटिल थियो।

असार २०, २०८३

दीपेन्द्र शाक्य

Successful gallbladder surgery using a telescopic method at Sankhuwasabha District Hospital

संखुवासभा — जिल्ला अस्पताल संखुवासभामा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबिन) विधिबाट पित्तथैलीको ठूलो पत्थरीको सफल शल्यक्रिया गरिएको छ।

अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले खाँदबारी नगरपालिका–३ की ५३ वर्षीया बुद्धमाया राईको पित्तथैलीबाट करिब ४ सेन्टिमिटर लामो ढुङ्गा निकालेको हो।

अस्पतालका अनुसार शुक्रबार गरिएको यो शल्यक्रिया जिल्ला अस्पतालमा दूरबिन विधिबाट गरिएको दोस्रो केस भए पनि पत्थरीको आकारका हिसाबले निकै जटिल थियो।

शल्यक्रियामा संलग्न सर्जन डा. सन्तोष देवकाले बिरामीको पित्तथैलीमा करिब ४ सेन्टिमिटर लामो ढुङ्गा रहेको र त्यसलाई सुरक्षित रूपमा निकालिएको बताए।

शल्यक्रियामा अस्पतालका सर्जनद्वय डा. सन्तोष देव र डा. राज्य प्रकाश राई (एम.एस.) तथा एनेस्थेसियातर्फ डा. प्रियङ्का दाहाल (एम.डी.) को टोली सहभागी थियो।

चिरेर गरिने शल्यक्रियाको तुलनामा ल्याप्रोस्कोपिक (मिनिमल्ली इन्भेसिभ) विधिबाट शल्यक्रिया गर्दा बिरामीलाई कम दुखाइ हुने, घाउको दाग सानो बस्ने र बिरामी छिट्टै निको भएर घर फर्कन सक्ने डा. देवले बताए।

यसअघि यस्ता जटिल शल्यक्रियाका लागि जिल्ला बाहिरका सुविधासम्पन्न अस्पताल जानुपर्ने बाध्यता थियो। जिल्ला अस्पतालमै यो अत्याधुनिक सेवा उपलब्ध हुन थालेपछि संखुवासभावासीलाई ठूलो राहत मिलेको छ।

दीपेन्द्र

Link copied successfully