सिलिचोङमा पहिरो : २८ घर विस्थापित, स्वास्थ्यचौकी जोखिममा

तल्लो तेन्छोङका २० तथा सिलिचोङ-१ का अन्य आठ गरी २८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

असार १७, २०८३

दीपेन्द्र शाक्य

Landslide in Silichong: 28 houses displaced, health post at risk

संखुवासभा — अविरल वर्षासँगै आएको बाढी र पहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका–१ स्थित तेन्छोङ बस्तीमा २८ घर विस्थापित  भएका छन् । पहिरोका कारण एक सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ । प्रभावित परिवारलाई स्थानीय तह, सेना, प्रहरी र जनप्रतिनिधिको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ।

आइतबार रातिदेखि परेको लगातार वर्षापछि बस्तीमाथिको जमिन चिरा परेर पहिरो खस्न थालेपछि तल्लो र माथिल्लो तेन्छोङका बासिन्दा घर छाड्न बाध्य भएका हुन्। जोखिम अझै कायम रहेकाले स्थानीयले आफन्त तथा छिमेकीको घरमा अस्थायी आश्रय लिइरहेका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तल्लो तेन्छोङका २० तथा सिलिचोङ-१ का अन्य आठ गरी २८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। 

उनका अनुसार तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई र विन्दुर राईको घर पहिरोका कारण विस्थापित भएको छ। यस्तै सिलिचोङ–१ का कुन्ती राई, धनपूर्ण राई, मङ्गलबहादुर राई, सुकप्रसाद राई, मीरा राई र धनमान राईका परिवारसमेत प्रभावित भएका छन्। 

पहिरोले तेन्छोङस्थित सामुदायिक स्वास्थ्यचौकीलाई पनि उच्च जोखिममा पारेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० सदस्यीय टोली घटनास्थल पुगेको छ। टोलीले प्रभावित क्षेत्रको अनुगमन, स्थानीयको उद्धार तथा थप क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ।

गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले प्रभावित परिवारका लागि राहत, अस्थायी आवास, खाद्यान्न तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोगको माग गरिएको बताए। उनले पहिरोको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे।

यता, बाढीले सिलिचोङका दुई लघुजलविद्युत् आयोजना-सिसुवाखोला (६० किलोवाट) र चटेक्मा (३० किलोवाट)मा क्षति पुर्‍याएपछि गाउँका ६ सयभन्दा बढी घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएका छन्। विद्युत् अवरुद्ध हुँदा स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ भने खानेपानी, सञ्चार तथा अन्य सेवा सञ्चालनमा समेत समस्या देखिएको छ।

त्यसैगरी, सिसुवाखोलामा आएको बाढीले दुई विद्यालयमा क्षति पुर्‍याएपछि पठनपाठन स्थगित गरिएको छ। 

मौसम अझै पूर्ण रूपमा नखुलेको र थप वर्षाको सम्भावना रहेकाले स्थानीय प्रशासनले पहिरो तथा बाढीको उच्च जोखिम भएका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

दीपेन्द्र

Link copied successfully