काँकडभिट्टा नाकाबाट मंगलबार इलाम टी र समर भ्यालीका दुई ट्रक चिया भारत निर्यात, २० प्रतिशत खेपमा मात्रै र्यान्डम नमुना परीक्षण गर्ने सहमति
What you should know
विराटनगर — करिब दुई महिनादेखि अवरुद्ध नेपाली चियाको निर्यात मंगलबारदेखि सुरु भएको छ । काँकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया मंगलबार भारत निर्यात भएको मेची भन्सार कार्यालय, काँकडभिट्टाले जनाएको छ ।
भारतीय भन्सारबाट यही प्रक्रियाअनुसार नियमित क्लियरेन्स हुन थालेमा चिया निर्यातमा देखिएको समस्या समाधान भएको मान्न सकिनेछ - आदित्य पराजुली, अध्यक्ष, चिया उत्पादक संघ‘चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्’, सूर्योदय अर्थोडक्स टी प्रोडक्ट एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले भने, ‘नेपाली चियालाई भारतीय भन्सारले निर्बाध पास गरेको छ ।’ नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काँकडभिट्टा नाकाबाट चिया बोकेका गाडी भारतको पानीट्यांकीतर्फ पठाइएको बताउँदै चिया निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको जनाए । ‘अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको छ, केही समयपछि झापाको सीटीसी पनि जान्छ,’ उनले भने ।
उनका अनुसार वायरहरूलाई चियाको नमुना पठाइसकिएको छ । ‘उनीहरू हाम्रो चिया किन्न आतुर देखिएका छन्,’ उनले भने । नेपाली चिया मुख्य रूपमा भारतको सिलिगुडी र कोलकाताका बजारमा बिक्री हुने गरेको छ । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार पहिले भारतले सबै खेपको नमुना परीक्षण गर्ने व्यवस्था गरेको थियो । अहिले २० प्रतिशत खेपमा मात्रै र्यान्डम नमुना परीक्षण गर्ने सहमति भएको छ ।
अध्यक्ष पराजुलीका अनुसार भारतीय भन्सारबाट यही प्रक्रियाअनुसार नियमित क्लियरेन्स हुन थालेमा चिया निर्यातमा देखिएको समस्या समाधान भएको मान्न सकिनेछ । यसअघि तीन साताको अवरोधपछि ६ जेठमा केही खुकुलो बनाइएको चिया निर्यात प्रक्रिया भारतले फेरि जेठको तेस्रो सातादेखि कडाइ गरेको थियो । भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीहरूले निर्यात रोक्न बाध्य भएको बताएका थिए ।
यसैबीच, भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले २३ जुनमा जारी गरेको पत्रमार्फत चिया (एचएसएन कोड ०९०२) आयातमा जोखिममा आधारित परीक्षण प्रणाली लागू गर्दै २० प्रतिशत खेपमा ‘र्यान्डम इन्टरसेप्सन’ अर्थात् नमुना छनोट गरी परीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । उद्योगीहरूका अनुसार हाल करिब तीन लाख केजी तयारी चिया भारतीय गोदाममा थन्किएको छ भने १० लाख केजीभन्दा बढी चिया नेपालमै भण्डारण गरिएको छ ।
समस्याको विरोधमा इलामका उद्योगीले १ असारदेखि तथा झापाका उद्योगीले ४ असारदेखि उद्योग बन्द गरेका थिए । झापा, इलामसहित पूर्वी नेपालका करिब ९९ वटा चिया उद्योग बन्द हुँदा दर्जनौं साना तथा ठूला चिया बगानमा कामसमेत प्रभावित भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू उद्योग पुनः सञ्चालन गर्न सहमत भएका थिए ।
