कोशी प्रदेशको १ करोड ७ लाख बजेटमा निर्माण भएको दिक्तेल–रेग्मीटार सडक शनिबारदेखि सञ्चालनमा आएपछि तराइ जान १५ किलोमिटर छोटिएको छ ।
What you should know
खोटाङ — दिक्तेल–रेग्मीटार सडक सञ्चालनमा आएको छ । सदरमुकाम दिक्तेलदेखि पूर्वी तराई जोड्ने सबैभन्दा छोटो दूरीको सडक शनिबारदेखि सञ्चालनमा आएको हो ।
उक्त सडक खण्डमा पर्ने महभीर छिचोलेर सडक बनाइएपछि यातायात सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए ।
भीर छिचोल्दै सडक निर्माणलगायतका कामका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड ७ लाख ७८ हजारको लागतमा २०८३ जेठ ३१ सम्म सम्पन्न गर्ने गरी कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले पूर्वाधार विकास कार्यालय खोटाङसँग २०८२ माघ ११ मा सम्झौता गरेको थियो ।
उक्त बजेटबाट भीर फोरेर सडक बनाउने, भीर खसाल्दा भत्किएका सिँचाइ कुलो बनाउने, कज्वे ढलान गर्ने, ग्याबियन जाली लगाउनेलगायतका काम गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
यो सडक निर्माण भएपछि तराई जानका लागि माहुरे–बुइपा–राजापानी हुँदै रेग्मीटार पुग्न घुम्नु पर्ने बाध्यता हटेको छ । यो सडक निर्माण भएपछि करिब १५ किलोमिटर सडक छोटो भएको पूर्वाधार विकास कार्यालय प्रमुख विनम दाहालले सुनाए । जोखिम मोल्दै पहरा फोरेर सडक निर्माण गर्ने एक्साभेटरका अपरेटरहरू प्रकाश लामा र प्रकाश पाख्रिनलाई जनही नगद १० हजार रूपैयाँसहित सम्मान समेत गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खल्लेका वडाअध्यक्ष खगेन्द्र राईले बताए ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास पूर्वमन्त्री भूपेन्द्र राईले सडकको उद्घाटन गरे । तर अघिल्लो वर्षको बाढीले फोक्सिङटारको पुल बगाएपछि बर्खा याममा तराईसँगको सिधा यातायात सम्बन्ध भने बिच्छेद भएको छ । उक्त ठाउँमा हिउँदमा बेलिब्रज जडान गरेपछि मात्र सिधा यातायात सञ्चालन हुने गरेको छ ।
