खाँदबारीबाट सुरु भयो सगरमाथा वृक्षारोपण महाअभियान, हरियाली भविष्य निर्माणमा सबैलाई जुट्न आह्वान

सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय वृक्षारोपण दिवस आइतबारदेखि संखुवासभाको सदरमुकाम खाँदबारीबाट औपचारिक रूपमा सुरु गरिएको छ ।

असार १४, २०८३

दीपेन्द्र शाक्य

Everest tree plantation campaign begins from Khandbari, calls on everyone to join hands in building a greener future

What you should know

संखुवासभा — सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय वृक्षारोपण दिवस आइतबारदेखि संखुवासभाको सदरमुकाम खाँदबारीबाट औपचारिक रूपमा सुरु गरिएको छ । खाँदबारीस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको परिसरमा आयोजित विशेष कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले बिरुवा रोपेर अभियानको सुरुवात गरे ।

सचिव सापकोटाले वृक्षारोपण एक दिनको औपचारिक कार्यक्रम नभई भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्ने दीर्घकालीन अभियान भएको बताए । उनले आज रोपिएका विरुवाहरू भविष्यमा हुर्किएर स्वच्छ हावा, हरियाली, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे । 

‘रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमासमेत सबै पक्षले उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भने । सरकारले सगरमाथा वृक्षारोपण महाअभियानलाई वर्षभर सञ्चालन हुने राष्ट्रिय अभियानका रूपमा अघि बढाएको छ । यस अभियानअन्तर्गत देशभरका वन क्षेत्र, सार्वजनिक स्थान, नदी उकास क्षेत्र, विद्यालय परिसर तथा खाली जग्गामा व्यापक वृक्षारोपण गरिने लक्ष्य लिइएको उनले बताए । कोशी प्रदेशका सबै जिल्लामा समेत आइतबारदेखि अभियान एकसाथ सुरु भएको जनाइएको छ ।

Everest tree plantation campaign begins from Khandbari, calls on everyone to join hands in building a greener future

डिभिजन वन कार्यालय संखुवासभाले अभियानलाई सफल बनाउन स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्दै वर्षभर वृक्षारोपण र संरक्षणका कार्यक्रम सञ्चालन गरिने जनाएको छ । वन संरक्षणसँगै हरित वातावरण निर्माण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न वृक्षारोपण प्रभावकारी माध्यम हुने विश्वास लिइएको छ ।

सगरमाथाको नामसँग जोडिएको यो महाअभियानले वातावरण संरक्षणप्रति नागरिकको सहभागिता अभिवृद्धि गर्नुका साथै हरियाली नेपाल निर्माणको राष्ट्रिय अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित निकायले सबै नागरिकलाई वृक्षारोपणमा मात्र सीमित नरही रोपिएका विरुवाको संरक्षण र संवर्द्धनमासमेत सक्रिय सहभागिता जनाउन उनले आग्रह गरेका छन् । डिभिजन वन कार्यालय संखुवासभाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी, सामुदायिक वनका पदाधिकारी, विद्यार्थी तथा स्थानीयवासीहरूको सहभागिता थियो । सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

दीपेन्द्र

Link copied successfully