दुई दशकपछि धरानमा स्मार्ट बसपार्क सञ्चालन

धरानको नयाँ बसपार्कमा तीनतले टर्मिनल, अन्डरग्राउण्ड पार्किङ, प्रतीक्षालय, व्यावसायिक सटर र ३८ बस पार्किङको क्षमता रहेको छ।

असार १३, २०८३

एलिना राई

Smart bus park operational in Dharan after two decades

What you should know

धरान — करिब दुई दशकअघि परिकल्पना गरिएको धरानको स्मार्ट बसपार्क अन्ततः सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिका–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत निर्माण गरिएको स्मार्ट बसपार्कको शनिबार कार्यवाहक नगरप्रमुख आईन्द्र विक्रम बेघाले उद्घाटन गरका हुन् ।

करिब २७ कठ्ठा जग्गामा बनेको बसपार्कमा बेसमेन्टसहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ । उक्त बसपार्कमा एकै पटक ३८ बस र १८ वटा जिप तथा ल्याण्डरोभर, ट्याक्सी पार्क गर्न क्षमता रहेको छ । अण्डरग्राउण्ड पार्किङको समेत स्वुिधा रहेको छ ।सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण दक्षिण–पश्चिमतर्फको केही भाग भने निर्माण हुन बााकी रहेको धरान उपमहानगरको बरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले बताए ।

बसपार्कको बेसमेन्टमा करिब १ हजार ८४० वर्गमिटर क्षेत्रफलमा पार्किङ व्यवस्था, दुईवटा सवारी प्रवेश र्‍याम्प, दुईवटा भर्‍याङ तथा भविष्यमा लिफ्ट जडान गर्न सकिने संरचना निर्माण गरिएको छ । भूइँतलामा १ सय ५ सिट क्षमताको यात्रु प्रतीक्षालय, २५ वटा टिकट काउन्टर, एटीएम, सीसीटीभी तथा सुरक्षा कक्ष, महिला, पुरुष र अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा अन्य भाडामा सञ्चालन गर्न सकिने व्यावसायिक स्थानहरु रहेका छन् ।

पहिलो तलामा १४ वटा व्यावसायिक सटर, संलग्न शौचालय सहित १२ वटा लज कोठा, रेस्टुरेन्ट, कफी सप, खुला व्यावसायिक क्षेत्र तथा बसपार्क व्यवस्थापन कार्यालयको व्यवस्था गरिएको छ ।

बसपार्क परिसरमा करिब ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने क्षमता रहेको छ । साथै सार्वजनिक शौचालय तथा ८० हजार लिटर क्षमताको खानेपानी तथा अग्निनियन्त्रण ट्याङ्की निर्माण गरिएको ईन्जिनियर श्रेष्ठले जानकारी दिए ।

आयोजनाको कुल लागत अनुमान ३३ करोड ७० लाख ४७ हजार २३८ रुपैयाँ रहेको कार्यवाहक नगर प्रमुख बेघाले बताए । प्रारम्भिक ठेक्का सम्झौता २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा भए पनि परिमार्जनपछि २४ करोड ९१ लाख ३ हजार ९५८ रुपैयाा कायम गरिएको थियो । आयोजनामा हालसम्म २४ करोड ८६ लाख ९ हजार १४९ रुपैयाा खर्च भएको उनले जानकारी दिएका छन् ।

यस बसपार्कको लागि २०७८ असार ३० मा ठेक्का सम्झौता भई  उक्त आयोजना २०८१ असार ३० मा सम्पन्न गर्ने लक्ष्य रहे पनि उच्च अदालत विराटनगरको अन्तरिम आदेशका कारण नौ महिना म्याद थप गर्नुपरेको उनले बताए ।

स्मार्ट बसपार्क निर्माणको ठेक्का विकोई–गीताञ्जली जेभी, दुहबी, सुनसरीले सम्पन्न गरेको उपमहानगरपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा पूर्व नगरप्रमुख तिलक राई, उपप्रमुख मन्जु भण्डारी, धरानको वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

धरानमा बसपार्क स्थानान्तरणको अवधारणा २०५८ सालमै भानुचोकस्थित सााघुरो बसपार्कको विकल्प खोज्ने उद्देश्यले अघि सारिएको थियो। करिब दुई दशकपछि उक्त योजना मूर्तरूप लिँदै बल्ल आधुनिक सुविधासम्पन्न स्मार्ट बसपार्क सञ्चालनमा आएको हो। यसबाट सार्वजनिक यातायात व्यवस्थापन सहज हुनुका साथै यात्रुलाई सुरक्षित, व्यवस्थित र सुविधायुक्त सेवा उपलब्ध हुने अपेक्षा गरिएको कार्यवाहक नगरप्रमुख बेघाले बताए ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully