छोरा हत्या अभियोगमा कारागारमा रहेका सिंघकको मृत्यु

पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बा निवासी ५२ वर्षीय बखतबहादुर सिंघकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

असार १३, २०८३

लक्ष्मी गौतम

Singhak, who was in prison for murdering his son, dies

पाँचथर — छोरा हत्या अभियोगमा पुर्पक्षका लागि पाँचथर कारागारमा रहेका एक अभियुक्तको उपचारका क्रममा मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बा निवासी ५२ वर्षीय बखतबहादुर सिंघकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

करिब दुई साताअघि बिरामी परेका उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल पठाइएकोमा थप जटिल बनेपछि चिकित्सकले उनलाई धरान रेफर गरेका थिए । शनिबार प्रतिष्ठान पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिशकुमार कर्णले जानकारी दिए । उनका अनुसार उनको मुटु र रगतसम्बन्धी समस्या रहेको बताइए पनि यथार्थ कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्नेछ । शव परीक्षण गरेर अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको छ ।

गत कात्तिकमा १९ वर्षीय छोरा सफल सिघंकको गोली प्रहार गरी हत्या गरेको अभियोगमा बखतबहादुर पक्राउ परेका थिए । घटनापछि प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । अदालतको आदेशपछि उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully