विवादास्पद छविका अभिषेक गिरीको घरमा अवैध हतियार लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको थियो ।
विराटनगर — मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर महानगरपालिका–४ मधुमारास्थित उनको घरबाट गिरीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मोरङ कारागारका कैदीबन्दीलाई उपलब्ध गराइने भत्ता तथा अन्य रकम दुरुपयोग गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो । अवैध हतियार लुकाएर राखेको आशंकामा उनको घरमा छापा मारिएको भए पनि पक्राउको मुख्य कारण कैदीबन्दीसँग सम्बन्धित रकम हिनामिना गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटवालले कारागारका कैदीबन्दीलाई प्राप्त हुने रकम गिरीले लगेको भन्ने उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए। ‘कारागारका कैदीबन्दीलाई प्राप्त हुने पैसा उनले लगेको आरोप छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ एसपी कटवालले भने।
शरीर बन्धक तथा अपहरण मुद्दामा कैद भुक्तानका क्रममा मोरङ कारागारमा रहँदा गिरी चौकीदारको जिम्मेवारीमा थिए। कैद सजाय पूरा गरी रिहा भए पनि उनी कारागारको आन्तरिक गतिविधिमा सक्रिय रहेको आरोप लाग्दै आएको थियो।
विवादास्पद छविका उनी दुई वर्षयता भने उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका छन्।
गिरीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेका छन्।
