कोशीका १२ जिल्ला खेलकुद समितिमा नयाँ नेतृत्व

लामो समय नेतृत्वविहीन रहेका कोशी प्रदेशका १२ जिल्ला खेलकुद विकास समितिमा नयाँ अध्यक्ष नियुक्त भएपछि जिल्लास्तरीय खेलकुद गतिविधि सञ्चालनको बाटो खुलेको छ।

असार ११, २०८३

अर्जुन सुवेदी

New leadership in 12 district sports committees in Koshi

What you should know

सुनसरी — कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहतका जिल्ला खेलकुद विकास समितिहरूले लामो समयपछि नेतृत्व पाएको छ । 

बोर्डका सदस्य सचिव विप्लव घोषले बिहीबार १२ जिल्लामा अध्यक्ष नियुक्त गरेसँगै गत चैतदेखि नेतृत्वविहीन बनेका समितिहरूले पूर्णता पाएको हो । सदस्य सचिव नियुक्तिमा भएको ढिलाइका कारण जिल्ला खेलकुद विकास समितिहरू लामो समयदेखि नेतृत्वविहीन थिए ।

प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच ६–६ जिल्लाको भागबन्डामा सहमति भएपछि नियुक्ति प्रक्रिया अघि बढाइएको हो । बोर्डको निर्णयअनुसार विवाद र कानुनी जटिलताका कारण मोरङ र खोटाङमा भने तत्काल नेतृत्व परिवर्तन नगर्ने सहमति भएको छ।

मोरङका वर्तमान अध्यक्ष इन्द्र लामा उच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कारण यथावत् रहने भएका छन् । खोटाङका अध्यक्ष रमेश राईलाई पनि तत्काल नहटाउने निर्णय गरिएको छ ।

दुई दलको सहमति अनुसार एमालेले धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, इलाम र झापामा समितिले नेतृत्व पाएको छ । धनकुटामा मनोजकुमार राई, ताप्लेजुङमा चन्द्र कुमार थेबे, संखुवासभामा लक्ष्मण लिङथेव, सोलुखुम्बुमा अर्जुन रोक्का, इलाममा यतिराज काफ्ले र झापामा शेखर कँडेल नियुक्त भएका छन् । कांग्रेसको भागमा सुनसरी, ओखलढुंगा, उदयपुर, तेह्रथुम, पाँचथर र भोजपुर परेका छन् ।

सुनसरीमा केशव कार्की, ओखलढुंगामा अमितबहादुर गुरुङ, पाँचथरमा सन्तोष मोक्ताङ, भोजपुरमा देउप्रकाश राई, उदयपुरमा धिरज खड्का र तेह्रथुममा राजकुमार नेपाल नियुक्त भएको सदस्य सचिव घोषले जानकारी दिए ।

बोर्डमार्फत प्रदेशका १४ वटै जिल्लामा नियुक्त हुनुपर्ने जिल्ला खेलकुद विकास समिति अध्यक्ष नियुक्त नहुँदा जिल्ला जिल्ला तहमा हुनुपर्ने बिभिन्न खेलकुद गतिबिधि प्रभावित बनेका थिए । चालु आर्थिक वर्ष सकिन दुई साता मात्र बाँकी रहँदा बिभिन्न खेलकुदका लागि छुट्याइएको बजेट समेत फ्रिज हुने जोखिम बढेको थियो । सदस्य सचिव घोषका अनुसार रिक्त जिल्लाहरूमा अध्यक्ष तथा उपाध्यक्ष नियुक्त गरेर प्रदेशभर खेलकुद गतिविधि सक्रिय बनाएको हो । 

अर्जुन

Link copied successfully