चालु आर्थिक वर्षको लागि २ अर्ब ५५ करोड २१ लाखको बजेट ल्याएको उपमहानगरले आगामी वर्षको बजेटलाई पूर्वाधार विकास, खानेपानी समस्या समाधान तथा आन्तरिक राजस्व सुदृढीकरणमा केन्द्रित गर्ने लक्ष्य राखेको छ ।
What you should know
सुनसरी — इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपप्रमुख संगिताकुमारी चौधरीले नगरपालिकाले आगामी वर्षका लागि विभिन्न स्रोतबाट आम्दानी हुने अनुमान गर्दै उक्त बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षको लागि २ अर्ब ५५ करोड २१ लाखको बजेट ल्याएको उपमहानगरले आगामी वर्षको बजेटलाई पूर्वाधार विकास, खानेपानी समस्या समाधान तथा आन्तरिक राजस्व सुदृढीकरणमा केन्द्रित गर्ने लक्ष्य राखेको छ ।
कूल बजेटको आधाभन्दा बढी हिस्सा पूँजीगत खर्चमा विनियोजन गरेको उपमहानगरले यस वर्ष पनि विकास निर्माणलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेको हो । चौधरीले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान २८ करोड ७३ लाख रहने अनुमान गरिएको छ । त्यसैगरी संघीय सशर्त अनुदान अन्तर्गत चालु खर्चतर्फ ४९ करोड ७० लाख र पूँजीगत खर्चतर्फ ४९ करोड १८ लाख विनियोजन हुने भएको छ । संघीय विशेष अनुदान ५ करोड रहने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान २ करोड ७५ लाख ५० हजार, सशर्त अनुदान चालु खर्चतर्फ १ करोड ३७ लाख ७० हजार तथा पूँजीगत खर्चतर्फ ३ करोड २३ लाख रहनेछ । त्यस्तै, राजस्व बाँडफाँट अन्तर्गत संघीय सरकारबाट १९ करोड ९८ लाख ५७ हजार र प्रदेशबाट सवारी कर वापत २ करोड २२ लाख ५३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
स्थानीय स्रोततर्फ मालपोत तथा अन्य बाँडफाँटबाट २५ करोड र आन्तरिक राजस्वबाट ५६ करोड ३० लाख ४० हजार संकलन हुने अपेक्षा गरिएको छ । नगर विकास कोषमार्फत ८ करोड ८० लाख ऋण लिने व्यवस्थासमेत बजेटमा समावेश गरिएको छ । यी सबै स्रोत जोड्दा कुल बजेट २ अर्ब ५२ करोड २८ लाख ७० हजार पुग्ने नगरपालिकाले जनाएको छ । उपमहानगरले खर्च विनियोजनलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेको छ ।
चालू खर्चतर्फ ९४ करोड ८३ लाख ७० हजार अर्थात् कूल बजेटको ३७.५९ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापन अन्तर्गत साँवा तथा ब्याज भुक्तानीका लागि १ करोड २४ लाख छुट्याइएको छ । त्यस्तै, विकास निर्माण केन्द्रित पूँजीगत खर्चतर्फ सबैभन्दा बढी १ अर्ब २९ करोड ४६ लाख विनियोजन गरिएको छ । विषयगत तथा कार्यक्रमगत खर्चतर्फ २६ करोड ७५ लाख छुट्याइएको छ । नगरपालिकाले चालु, पूँजीगत तथा कार्यक्रमगत खर्चको विस्तृत विवरण, वडा स्तरका योजना सीमा र नगरस्तरीय आयोजनाहरू अनुसूचीमा समावेश गरिएको जनाएको छ ।
बजेट वक्तव्यमा इटहरीको दीर्घकालीन खानेपानी समस्या समाधानलाई प्रमुख प्राथमिकतामा राखिएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपाल सरकारको अनुदान तथा ऋण र इटहरी उपमहानगरपालिका तथा इटहरी खानेपानी उपभोक्ता संस्थाको साझेदारीमा एकीकृत खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुने भएको हो ।
हाल उक्त आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी आर्थिक वर्षदेखि निर्माण तथा सञ्चालन कार्य अघि बढ्ने नगरपालिकाले जनाएको छ । यस आयोजनाका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक योगदान रकम व्यवस्थापन गर्न इटहरी उपमहानगरपालिका र खानेपानी उपभोक्ता संस्थाबीच आपसी सम्झौता गरी नगर विकास कोषबाट ऋण लिने प्रस्ताव समेत बजेटमा समावेश गरिएको छ ।
