बाढीपहिरोले संखुवासभाको मकालुमा क्षति : पुल भत्कियो, सडक अवरुद्ध

मंगलबार रातिको बाढीपहिरोले झोलुंगे पुल बग्नुका साथै काठेपुल, पानीघट्टा, विद्यालय, अलैंचीबारीमा क्षति भएको प्रहरीले जनाएको छ ।

असार ११, २०८३

दीपेन्द्र शाक्य

Floods and landslides damage Makalu, Sankhuwasabha: Bridge collapsed, road blocked

काठमाडौँ — लगातार परेको वर्षासँगै संखुवासभाको मकालु गाउँपालिका–१ मा पहिरो र बाढीले व्यापक क्षति पुर्‍याएको छ । मंगलबार राति आएको बाढीले झोलुङ्गे पुल बग्नुका साथै काठेपुल, पानीघट्टा, विद्यालय, अलैँचीबारीमा क्षति भएको प्रहरीले जनाएको छ । 

वडाध्यक्ष आङबाबु शेर्पाका अनुसार मयुमका आङटेम्बा शेर्पाको तीनतले घरको छेउबाट ठूलो पहिरो झरेपछि घर पूर्ण जोखिममा परेको छ। घरमा हाल कोही बसोबास नगरे पनि नजिकै रहेको करिब पाँच रोपनी जग्गा पहिरोले पुरिएको छ। यस्तै, नुर्वुचौर र नुर्वु गाउँ जोड्ने इसुवा खोलाको झोलुङ्गे पुल बाढीले बगाएको छ। नुर्वु खोल्सीमा आएको बाढीले सार्वजनिक पानीघट्टासहित चारवटा काठेपुल पनि बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । 

पहिरोका कारण इसुवा हाइड्रोपावरको ड्याम साइट जाने करिब दुई किलोमिटर सडक विभिन्न स्थानमा अवरुद्ध भएको छ । आयोजनाका दुईवटा एचआरपी पाइप पहिरोले बगाएको तथा करिब २ सय मिटर पाइप क्षति पुगेको बताइएको छ।

फुर्वा वाङढी शेर्पाको करिब १० रोपनी, कुसाङ दोर्ची शेर्पाको ८ रोपनी तथा आङवावु शेर्पाको १२ रोपनी जग्गा पहिरोले बगाएको छ। त्यसैगरी ङिमा छिरिङ शेर्पा, टेन्जिङ नुर्वु शेर्पा, ङोडुक शेर्पालगायतका कृषकहरूको अलैँचीबारीमा पनि व्यापक क्षति पुगेको छ। मयुमका वाङ्दी छिरिङ शेर्पा, ङाजुङ बुटी शेर्पा, ङिमा थिन्दुक शेर्पा, ङिमा डिकी शेर्पा, आङदावा शेर्पा, लाक्पा रेन्जी शेर्पा, आङनुर्वु शेर्पा र पेमा छिरिङ शेर्पाका अलैँचीबारीसमेत पहिरोले नष्ट गरेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

यसैबीच, मयुमस्थित सिंहेश्वरी आधारभूत विद्यालयको करिब पाँच मिटर कम्पाउण्ड वाल भत्किएको छ भने विद्यालयको ढुङ्गामाटोले बनेको स्टाफ किचन चर्किएको छ।

निसार गाउँका सानु शेर्पाको दुईतले घरमाथिबाट समेत पहिरो झरेपछि घर जोखिममा परेको छ। घरधनी हाल काठमाडौंमा बस्दै आएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

घटनाबाट हालसम्म मानवीय क्षतिको खबर प्राप्त नभए पनि भौतिक संरचना, कृषि उत्पादन र स्थानीय पूर्वाधारमा ठूलो नोक्सानी पुगेको छ। क्षतिको यथार्थ विवरण संकलन काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी मकालुका प्रहरी सहायक निरीक्षक भोजराज देवकोटाको नेतृत्वमा टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ।

दीपेन्द्र

Link copied successfully