दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरलाई ‘कृषि हानिकारक’ को रूपमा लिंदै हेरालुका लागि ४५ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ ।
खोटाङ — जिल्लाका दुई नगर र ८ गाउँपालिका गरी १० वटै स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर हेरालुका लागि बजेट व्यवस्था गरेको छ । मङ्गलबार भएको १५ औं नगरसभाले बाँदरलाई ‘कृषि हानिकारक’ को रूपमा लिंदै हेरालुका लागि बजेट विनियोजन गरेको हो ।
यसका लागि ४५ लाख रूपैयाँ बजेट विनियोजनका लागि प्रस्तुत गरिएको उपप्रमुख विसन राईले बताए । त्यस्तै, जेष्ठ पत्रकार पेन्सनका लागि समेत बजेट व्यवस्था गर्ने नीतिगत प्रस्ताव पेश गरिएको छ । कतिपय शीर्षकका बजेट चाहिा आगामी १६ असारमा पारित हुने राईले सुनाए ।
‘बाँदर हेरालुका लागि ४५ लाख बजेट विनियोजन गरिएको छ,’ राईले भने, ‘जेष्ठ पत्रकार पेन्सनका लागि नीतिगत प्रस्ताव पेश भयो, अब बजेट पारित हुने दिन (आगामी १६ असार) मा नै कति बजेट विनियोजन हुन्छ भन्ने टुङ्गो लाग्छ ।’
नगरसभामा जैविक विविधता संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर प्रमुख तीर्थराज भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार जलवायुमैत्री सडक निर्माण, स्वस्थ माटो तथा कृषि उत्पादन, पर्यटन प्रबर्द्धन, उद्योगको विकास लगायतलाई प्राथमिकतामा राखिएको छ ।
सडक निर्माण गर्दा जैविक विविधतामा असर पुग्ने भएकाले त्यसलाई असर नपर्ने गरी विरुवा रोपण लगायत वातावरण मैत्री योजना बनाएर नीति तथा कार्यक्रम पेश गरिएको भट्टराईले जनाए । उनका अनुसार खाली तथा भिरालो जग्गाहरूमा बाास रोप्नका लागि अनुदानको समेत व्यवस्था गरिएको छ ।
‘जैविक विविधतामैत्री सडक निर्माणदेखि, कृषि, पर्यटन, उद्योगको परिकल्पना गरेर नीति कार्यक्रम बनाइएको छ,’ भट्टराईले भने, ‘पृथ्वी बाँच्यो भने हामी पनि बाँच्छौं, होइन भने कोही पनि बाँच्दैनौं । त्यही भएर जैविक विविधतालाई प्राथमिकतामा राखेर नीति कार्यक्रम बनाइएको हो ।’
जलवायुमैत्री कृषि उत्पादनको माध्यमबाट समृद्धि हासिल गर्ने, जैविक विविधतायुक्त पर्यटन प्रबर्द्धन र वातावरणमैत्री उद्योग विकास गर्ने नीति प्रस्तुत गरिएको छ । नगरक्षेत्रभित्र प्लाष्टिकका झोला प्रयोग र विक्रीवितरणमा प्रतिबन्ध लगाउने, शिशाजन्य बोतलको व्यवस्थापन गर्ने जस्ता विषय समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नगरपालिकाको आयोजनामा २०८१ फागुन १५ देखि १७ गतेसम्म दिक्तेलमा भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा जारी गरिएको ३५ बुँदे घोषणापत्र र गत बैशाख ४ देखि ६ गतेसम्म भएको जैविक विविधता, रेडपाण्डा तथा थार अन्तर्राष्ट्र्र्रिय सम्मेलनमा जारी गरिएको ७ बुँदे घोषणापत्रलाई समेत कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको भट्टराईको भनाइ छ ।
नेपाल लगायतका विभिन्न ७ वटा मुलुकका जैविक विविधतासँग सम्वन्धित विज्ञहरू सहभागी सम्मेलनले उक्त घोषणापत्र तयार पारेको थियो । यसका साथै नगरसभामा जेष्ठ पत्रकारलाई पेन्सन दिने नीति समेत प्रस्तुत गरिएको छ । तर यसका लागि बजेट भने आगामी १६ गते पारित गरिने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए ।
यसका साथै सडक, पुल लगायत भौतिक पूर्वाधार सहित अन्य कार्यक्रममा आगामी २०८३/८४ का लागि ९९ करोड ७३ लाख ६४ हजार १३ रूपैयाँ ७० पैसाको बजेट प्रस्तुत गरिएको छ ।
त्यस्तै, साकेला गाउँपालिकाले बसाइ सरेर आउनेलाई प्रोत्साहन वापत पाँच हजार दिने निर्णय गरेको छ । उक्त गाउँपालिकाले कूल ४२ करोड ५७ लाख ६५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । १० असार मा आयोजित १६ औं गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि चालुतर्फ २६ करोड ४ लाख ८४ हजार र पूँजीगततर्फ १६ करोड ५२ लाख ८१ हजार रूपैयाँको बजेट स्वीकृत गरिएको हो । उक्त गाउँपालिकाले जेष्ठ पत्रकार पेन्सनका लागि ३ लाख बजेट विनियोजन गरेको छ ।
