समुदायस्तरमा विपद् स्वयंसेवक तयार गर्न तालिम

झापा, मोरङ, सुनसरी र धनकुटाका स्थानीय तहमा सशस्त्र प्रहरी बलले १०० जनालाई खोज, उद्धार र प्राथमिक उपचारसम्बन्धी तालिम दिएको छ।

असार १०, २०८३

कान्तिपुर संवाददाता

Training to prepare disaster volunteers at the community level

विराटनगर — कोशी प्रदेशका चार जिल्लामा समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक तयार गर्न सशस्त्र प्रहरी बलले तालिम सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा झापा, मोरङ, सुनसरी र धनकुटाका स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी तालिम सञ्चालन गरेको हो।

बाहिनीका अनुसार चार जिल्लाका दुई–दुई स्थानमा सञ्चालन गरिएको तालिममा प्रत्येक स्थानबाट २०/२० जनाका दरले सहभागी गराइएको छ। यसअनुसार कुल १०० जनाले तालिम लिएका छन्।

तालिममा आगलागी नियन्त्रण, जलजन्य विपद् व्यवस्थापन, प्राथमिक उपचार, सीपीआर, रोप रेस्क्यु तथा भत्किएका संरचनामा खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको छ। तालिमपछि सहभागीहरूलाई विपद्का बेला खोज तथा उद्धारमा स्वयंसेवकका रूपमा परिचालन गर्न सकिने सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका एसपी ज्ञानमणि पौड्यालले जनाए।

मोरङको रंगेली नगरपालिकामा आयोजित कार्यक्रमको उद्घाटन कार्यवाहक नगर प्रमुख भूमा पराजुलीले गरेकी थिइन्। झापा, सुनसरी र धनकुटामा आयोजित कार्यक्रमको उद्घाटन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू शिवराम गेलाल, वासुदेव घिमिरे र रत्नदेवी शर्माले गरेका थिए।

मोरङस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनीमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेशमा हुन सक्ने विपद्का घटनामा तत्काल खोज तथा उद्धारमा खटिन सक्ने स्वयंसेवक जनशक्ति निर्माणका लागि तालिम प्रभावकारी हुने बताए।

उनले यस्ता तालिमले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समुदायको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कान्तिपुर

Link copied successfully