गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत टुहुरा विद्यार्थीलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको हो ।
विराटनगर — इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन (टुहुरा) विद्यार्थीका लागि ‘उज्यालो भविष्य भत्ता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत टुहुरा विद्यार्थीलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको हो ।
गाउँपालिकाभित्र हाल २१ जना टुहुरा विद्यार्थी रहेका छन् । उनीहरूको शिक्षा, स्वास्थ्य बिमालगायतका व्यवस्थापनको जिम्मेवारी गाउँपालिकाले यसअघि नै लिँदै आएको छ ।
गाउँपालिकाका अनुसार प्रत्येक टुहुरा विद्यार्थीका नाममा १० हजार रुपैयाँ गाउँपालिकाबाट र २० हजार रुपैयाँ सिद्धी हाइड्रोपावरबाट गरी कुल ३० हजार रुपैयाँ एकमुष्ट बैंक खातामा जम्मा गरिएको छ । उक्त रकम उच्च शिक्षाका लागि वा गाउँपालिकाको सिफारिसमा मात्र झिक्न मिल्ने व्यवस्था गरिएको छ ।
यस्तै, सबै टुहुरा विद्यार्थीको डिम्याट (डीम्याट) खाता खोलिएको र गाउँपालिकाकै व्यवस्थापनमा प्राथमिक सेयर (आईपीओ)मा लगानीसमेत सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जनाए ।
गाउँपालिकाले उज्यालो भविष्य भत्ता कार्यक्रमले अभिभावकविहीन विद्यार्थीको शैक्षिक तथा आर्थिक भविष्य सुरक्षित बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
