अविरल वर्षाका कारण संखुवासभाको चिचिला–नुम सडकखण्डको १२० मिटर सडक चिरा परेर भासिएपछि सवारी आवागमनमा समस्या भएको छ।
संखुवासभा — मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण संखुवासभाको चिचिला गाउँपालिका–४ सुम्मभीर क्षेत्रमा निर्माणाधीन कोशी राजमार्गअन्तर्गत चिचिला–नुम सडकखण्डमा करिब १ सय २० मिटर सडक चिरा परेर भासिएको छ।
सडकमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ । निर्माण कम्पनी शर्मा–शिवशक्ति जेभी तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी सडक मर्मत तथा थप क्षति हुन नदिन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा सडक भासिने तथा पहिरोको जोखिम बढेकाले सो सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। प्रहरी चौकी चिचिला, संखुवासभाबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र राजवंशीको कमान्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
