यसअघि २ सन्तान जन्माइसकेका दम्पतीले पनि आर्थिक वर्ष २०८३/८४ भित्र नयाँ सन्तान जन्माएर वडा कार्यालयमा जन्मदर्ता गराएलगत्तै प्रोत्साहन भत्ता पाउने वडाध्यक्ष दिनानाथ अधिकारीले बताए ।
What you should know
पाँचथर — ऋणात्मक रहेको जनसंख्यालाई सन्तुलन गर्न भन्दै फिदिम नगरपालिकाको एउटा वडाले दुई भन्दा धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको १९ औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा फिदिमको २ नम्बर वडाले दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहनस्वरूप १ लाख ८० हजार रुपैयाँ भत्तास्वरूप दिन भनी छुट्याएको छ ।
यसअघि २ सन्तान जन्माइसकेका दम्पतीले पनि आर्थिक वर्ष २०८३/८४ भित्र नयाँ सन्तान जन्माएर वडा कार्यालयमा जन्मदर्ता गराएलगत्तै प्रोत्साहन भत्ता पाउने वडाध्यक्ष दिनानाथ अधिकारीले बताए ।घट्दो जनसंख्या व्यवस्थापन गर्न यस्तो नीति ल्याइएको अधिकारीको भनाइ छ ।
यसैबीच फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ४८ लाख ५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षका लागि यो पालिकाको बजेट १ अर्ब १० करोड ५१ लाख ३३ हजार २ सय १ रुपैयाँ थियो । यस वर्ष गत वर्षभन्दा १० करोड हाराहारी बजेट घटेको हो ।
मंगलबार आयोजित नगर सभाको १७ औं अधिवेशनमा उपप्रमुख राधाकृष्ण न्यौपानेले आगामी आर्थिक वर्षको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिकाको १९ औं नगर सभाले नगर प्रमुख मित्रप्रसाद काफ्लेले प्रस्तुत गरेको नीति कार्यक्रमसहित उपप्रमुख राधाकृष्ण न्यौपानेले प्रस्तुत गरेको बजेट सर्वसम्मतिले पारित गरेको छ । जिल्लाका ७ वटै गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । अधिकांशले कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेको पाइएको छ ।
हिलिहाङले असार ९ गते नै नीति कार्यक्रम ल्याएको थियो । उक्त पालिकाले बजेट भने वुधबार नै ल्याएको छ । हिलिहाङ र कुम्मायक गाउँपालिकाले बसाइँ सरेर आउनेलाई प्रोत्साहन रकम दिने नीतिलाई निरन्तरता दिएका छन् । दुवै पालिकाले अन्य पालिकाबाट बसाइँ सरेर आउनेलाई नगदसहित प्रोत्साहन रकम उपलब्ध गराउने नीतिलाई निरन्तरता दिएका हुन् ।
उता पशुपालनलाई प्रोत्साहन गर्न भन्दै फिदिम नगरपालिकाले एआई प्रविधिबाट नश्ल सुधारसहित उन्नत जातका गाईका बाच्छी उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ ।
