उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका–३ स्याबुङ क्षेत्रमा पहिरो खस्दा छोङराङ आसपास सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभा — लगातारको वर्षासँगै खसेको पहिरोका कारण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।
उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका–३ स्याबुङ क्षेत्रमा पहिरो खस्दा छोङराङ आसपास सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सडक अवरुद्ध भएसँगै जिल्लाको उत्तरी भेग भोटखोला गाउँपालिका र सदरमुकाम खाँदबारीबीचको यातायात अवरूद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार गएरातिदेखिको अविरल वर्षापछि माथिल्लो भेगबाट ठूलो मात्रामा पहिरो झरेको हो । पहिरोका कारण उक्त सडकखण्डमा सवारी साधन आवतजावत पूर्णरूपमा बन्द भएको उनले बताए ।
पहिरो हटाउन उत्तर–दक्षिण कोशी सडक कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय भइरहेको भए पनि निरन्तर वर्षा र थप पहिरो खस्ने जोखिमका कारण सडक खुलाउने काम तत्काल अघि बढाउन कठिन भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि भोटखोलाबाट खाँदबारीतर्फ आउँदै गरेका तथा खाँदबारीबाट उत्तरी क्षेत्रतर्फ जाँदै गरेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । दैनिक उपभोग्य सामग्री ढुवानी, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवासमेत प्रभावित बनेका छन् ।
