घटनाको निन्दा गर्दै छानबिन गरी दोषीउपर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग माग
What you should know
काठमाडौँ — सञ्चारकर्मीलाई भौतिक आक्रमणको धम्की दिएको भन्दै पत्रकार सम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन्। दलित पत्रकार संघका अध्यक्ष तथा रेडियो धनकुटाका सञ्चालक तथा स्टेसन म्यानेजर गोपाल बराइलीलाई धनकुटाको महालक्ष्मी नगरपालिका-७ आन्द्रोङका परशुराम कर्कीले सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानसिक दबाब सिर्जना गरेको भन्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखा, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति पत्रकार महासंघ केन्द्रीय समिति र दलित पत्रकार सङ्घले पनि उक्त घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दै महासंघले घटनाको सुक्ष्म छानबिनको माग गरेको छ । पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने बताए ।
बराइलीले गत असार ४ गते राहदानी छपाइ प्रकरणको बारेमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापालाई अख्तियारले छानबिन गरेको बारेमा समाचार धनकुटा एफएम डटकममा प्रकाशित गरेका थिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बराइली दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष हुन् ।
बराइलीलाई कार्कीले म्यासेन्जरमा जातीय रूपमा गाली गर्दै परिवार र ज्यानको ख्याल गर भन्दै धम्की दिइएको बराइली बताए । समाचारको विषयलाई लिएर कार्कीले पत्रकार बराइलीलाई सामाजिक सञ्जालमार्फत परिवारलाई समेत जोडेर गालीगलौज र धम्की दिएको महासंघले जनाएको छ ।
‘समाचारप्रति कुनै गुनासो वा असहमति भए कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानसिक दबाब सिर्जना गर्नु उचित होइन,’ पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘यस्ता गतिविधिले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई निरुत्साहित गर्ने महासंघको ठहर छ ।’
‘नेपाल पत्रकार महासंघ धनकुटा शाखा सामाजिक सञ्जालमार्फत गरिने यस्ता अमर्यादित तथा निन्दनीय गतिविधिको भत्र्सना गर्दै घटनाको आवश्यक छानबिन गरी सम्बन्धित निकायबाट आवश्यक पहल र कारबाहीका लागि ध्यानाकर्षण गराउँदछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार महासंघका केन्द्रीय समितिका महासचिव रामप्रसाद दाहालले पनि विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। समाचारमा चित्त नबुझेका विषयलाई कानुनी रूपमा राख्न सकिने विकल्पको प्रयोग नगरी पत्रकार र परिवारलाई समेत धम्की दिनु उचित नभएको महासचिव दाहालले विज्ञप्तिमा उल्लेख गरेका छन्।
त्यस्तै सामुदायिक रेडियो प्रसारक संघ, नेपालले पनि घटनाको निन्दा गर्दै छानबिन गरी दोषीउपर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग माग गरेको छ ।
त्यस्तै प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल र संघीय प्रेस युनियन(एकता पक्षधर) ले पनि संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार बराइलीको भौतिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।
पत्रकार गोपाल बराइलीले आफूमाथि भएको घटनाका विषयमा प्रहरीलाई जानकारी गराएको जानकारी दिए ।
