पहिरोका कारण खेत लेदोले पुरिएका छन् भने केही स्थानमा जमिन कटान भई खेतीयोग्य क्षेत्र नै प्रभावित भएको छ।
संखुवासभा — संखुवासभाको सभापोखरी गाउँपालिका–१ धुपु दोभानबेंसी क्षेत्रमा लगातार परेको अविरल वर्षापछि गएको पहिरोले स्थानीय किसानहरूको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। पहिरोका कारण खेत लेदोले पुरिएका छन् भने केही स्थानमा जमिन कटान भई खेतीयोग्य क्षेत्र नै प्रभावित भएको छ।
प्रहरीका अनुसार सभापोखरी गाउँपालिका–१ धुपुका राजन राईको १६ रोपनी, कर्ण राईको २ रोपनी, अम्बर राईको ५ रोपनी तथा गंगा बहादुर राईको ३ रोपनी गरी कुल २६ रोपनी खेतीयोग्य जमिनमा पहिरोले क्षति पुर्याएको छ। पहिरोका कारण खेतमा लेदो जमेको, केही भाग पुरिएको तथा कटानसमेत भएको प्रहरीले जनाएको छ। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
आईतबार प्रहरी चौकी धुपुबाट प्रहरी दिलिप शिवाकोटीको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थल पुगेर स्थलगत निरीक्षण तथा क्षतिको विवरण संकलन गरेको थियो ।
स्थानीयका अनुसार लगातारको वर्षापछि जमिन कमजोर बन्दा पहिरो खसेर खेतमा ठूलो असर पुगेको हो। धान रोपाइँको तयारी भइरहेका बेला खेतीयोग्य जमिनमा क्षति पुगेपछि प्रभावित किसान चिन्तित बनेका छन्। उनीहरूले क्षतिको मुल्यांकन गरी राहत तथा सहयोग उपलब्ध गराउन माग गरेका छन् ।
हालसम्म मानवीय क्षति, चौपायाको क्षति वा घरगोठमा कुनै क्षति नभएको जनाएको छ। वर्षायाम अझै जारी रहेकाले पहिरोको जोखिम कायम रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन तथा निरन्तर वर्षा भइरहेका बेला जोखिमयुक्त स्थानमा आवतजावत नगर्न प्रहरीले आग्रह गरेकाे छ ।
