नेपालको शिविरमा रहेका करिब ६ हजार ५ सय भुटानी शरणार्थीले पुनर्वासभन्दा स्वदेश फिर्ती नै मुख्य चाहना भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको सहयोग माग गरेका छन्।
What you should know
विराटनगर — नेपालमा तीन दशकभन्दा बढी समयदेखि बसोबास गरिरहेका भुटानी शरणार्थीहरूले आफ्नो सुरक्षित, सम्मानजनक र शीघ्र स्वदेश फिर्तीका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) समक्ष पहल गरिदिन आग्रह गरेका छन्।
विश्व शरणार्थी दिवसको सन्दर्भमा शनिबार भुटान इन्डिपेन्डेन्ट पिपुल्स फोरम (बीआईपीएफ) र नेशनल रिकन्सिलिएसन कमिटी भुटान (एनआरसीबी) ले नेपालस्थित यूएनएचसीआर प्रतिनिधि मोनिक सोखानलाई संयुक्त अपिलपत्र बुझाउँदै भुटानी शरणार्थीहरूको पुनर्वासभन्दा पनि स्वदेश फिर्तीको मूल आकांक्षा अझै अधुरो रहेको उल्लेख गरेका हुन्।
उनीहरुले सम्मानजनकस्वदेश फिर्तीको पहलका लागि प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि आग्रह गरेका छन् । झापा र मोरङका शिविरमा रहेको भुटानी शरणार्थीहरूको स्वेच्छिक तथा सम्मानजनक स्वदेश फिर्ती सुनिश्चित गर्न कूटनीतिक पहल गरिदिन प्रधानमन्त्री शाहलाई पनि आग्रह गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा तीन दशकभन्दा बढी समयदेखि शरणार्थी जीवन बिताइरहेका भुटानीहरूको समस्यातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा भुटानबाट विस्थापित नागरिकहरूले लामो समयदेखि सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक कठिनाइहरू भोग्दै आएको उल्लेख गरिएको छ । यूएनएचसीआर, विश्व खाद्य कार्यत्रम तथा विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय निकायहरूको सहयोगमा आवास, स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरू उपलब्ध गराइए पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको जनाइएको छ ।
शरणार्थी प्रतिनिधिहरूका अनुसार तेस्रो मुलुक पुनर्वास कार्यक्रममार्फत अमेरिका, क्यानडा, अष्ट्रेलिया, डेनमार्क लगायतका देशहरूमा १ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थीहरूको पुनर्वास भइसकेको छ । झापा र मोरङका शिविरहरूमा अझै साढे ६ हजार शरणार्थीहरू स्वदेश फर्किने आशामा बसिरहेका छन् ।
उनीहरूले सम्मान र सुरक्षासहित आफ्नो जन्मभूमि भुटान फर्कन चाहेको बताएका छन्। राजनीतिक उत्पीडन र जीवनमाथिको खतरा भएपछि बाध्य भएर देश छाड्नुपरेको उल्लेख गर्दै उनीहरूले आफ्नो सम्पत्ति, घरबार र जीवनको आधार गुमाउनुपरेको पीडा व्यक्त गरेका छन्। 'हामीले स्वदेश छाड्नु रोजाइ होइन, बाँच्नका लागि गरिएको पलायन थियो,' अपिलपत्रमा भनिएको छ, 'वर्षौं बितिसक्दा पनि सुरक्षित र सम्मानजनक रूपमा भुटान फर्किने हाम्रो चाहना अधुरै छ।'
दुवै संस्थाले यूएनएचसीआरलाई भुटान र सम्बन्धित पक्षहरूसँग समन्वय गरी शान्तिपूर्ण तथा न्यायपूर्ण समाधान खोज्न पहल गर्न आग्रह गरेका छन्। शरणार्थीहरूको अधिकार, सम्मान र पहिचान सुनिश्चित गर्दै स्वदेश फिर्तीको वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायले सक्रिय भूमिका खेल्नुपर्ने उनीहरूको माग छ।
भुटान इन्डिपेन्डेन्ट पिपुल्स फोरमका महासचिव डीबी सुब्बा र नेशनल रिकन्सिलिएसन कमिटी भुटानका संयोजक कृष्णवीर तामाङले हस्ताक्षर गरेको अपिलपत्रमा भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक र मानवीय प्रयासलाई तीव्र बनाउन आग्रह गरिएको छ।
नेपालमा रहेका भुटानी शरणार्थीहरूको मुद्दा तीन दशकभन्दा लामो समयदेखि समाधानविहीन रहँदै आएको छ। तेस्रो मुलुक पुनर्वास कार्यक्रम सम्पन्न भए पनि स्वदेश फिर्तीको माग गर्ने शरणार्थीहरूको समूहले भुटान सरकारले आफ्ना नागरिकलाई फर्काउने वातावरण सिर्जना गर्नुपर्ने माग निरन्तर उठाउँदै आएको छ।
