फिदिमस्थित ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको प्रतियोगितामा पुरुष र महिला गरी विभिन्न तौल समूहका ११० खेलाडी प्रतिस्पर्धामा छन् ।
पाँचथर — नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति पाँचथरको आयोजनामा फिदिममा जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ ।
फिदिमस्थित ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको प्रतियोगितामा पुरुष र महिला गरी विभिन्न तौल समूहका ११० खेलाडी प्रतिस्पर्धामा छन् ।
आयोजकका अनुसार पुरुषतर्फ १० तौल समूहमा ५५ र महिलातर्फ १० तौल समूहमा ५५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी पुरुष पुम्सेमा १० तथा महिला पुम्सेमा १० खेलाडी सहभागी रहेको आयोजक जिल्ला तेक्वान्दो संघका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
दुई चल्ने प्रतियोगितामा स्प्यारिङ र पुम्से विधामा प्रतिस्पर्धा भइरहेको छ । जहाँ स्प्यारिङतर्फ ९६ र पुम्सेतर्फ १६ खेलाडीले पदक प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई समेत विशेष सम्मान गरिने कार्यक्रम छ ।
प्रतियोगिताले जिल्लामा तेक्वान्दोप्रति आकर्षण बढाउनुका साथै प्रदेश र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ । फिदिम नगरपालिकाको मुख्य प्रवर्द्धन रहेको प्रतियोगिता असार ७ मा सम्पन्न हुनेछ ।
