मोटरसाइकल ट्याक्टरसँग ठोक्किँदा मामा-भान्जीको मृत्यु, आमा घाइते

झापाको कनकाई नगरपालिका–५ मा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा २० वर्षीय समिर अली र उनकी ५ वर्षीया भान्जीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

असार ५, २०८३

पर्वत पोर्तेल

Uncle and niece die, mother injured in motorcycle-tractor collision

झापा — झापाको कनकाई नगरपालिका–५ तुलसीबारीमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा मामा-भान्जीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी ५ वर्षीया भान्जी हाजिरा खातुन तथा समिरकी ४५ वर्षीया आमा नुरेश सादेवी घाइते भएका थिए। तीनै जनालाई तत्काल उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएको थियो।

अस्पताल पुगेलगत्तै चिकित्सकले समिर र हाजिरालाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिएण्डसी अस्पताल भर्ना गरिएको छ। 

दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर तथा ट्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ। 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully