मोरङका एसपी कवित कटुवाल भन्छन् : हामीले खानतलासी मारेका होइनौं। एक जना व्यक्ति त्यहाँ लुकेर बसेको भन्ने सूचना आएको थियो। त्यसैका आधारमा प्रहरी गएको हो ।
विराटनगर — कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राति प्रहरीले खानतलासी गरेको आरोप लागेको छ ।
विराटनगर–३ स्थित ल क्याम्पस नजिक रहेको मन्त्री पराजुलीको क्वार्टरमा राति करिब ११ बजेतिर प्रहरीको टोली पुगेको थियो। मन्त्रालय स्रोतका अनुसार प्रहरी टोलीले निवास परिसरमा प्रवेश गरी कोठा–कोठामा खानतलासी गरेको थियो। तर जिल्ला प्रहरी कार्यालय मोरङले भने छापा मारेको आरोप अस्वीकार गरेको छ।
मन्त्री पराजुली त्यसबेला संखुवासभा भ्रमणमा रहेकाले घटनाबारे आफूलाई प्रत्यक्ष जानकारी नभएको बताएका छन्।
मन्त्री निवासमा कार्यरत एक कर्मचारीका अनुसार राति आएको प्रहरी टोलीले केही समय निवास परिसरमा बसेर विभिन्न कोठाको निरीक्षण गरेको थियो। त्यसपछि टोली फर्किएको थियो ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले प्रहरी छापा मार्ने उदेश्यले नभई विशेष सूचनाका आधारमा त्यहाँ पुगेको दाबी गरे। उनले कुटपिटका फरार अभियुक्त विमल भट्टराईलाई खोज्ने क्रममा झुक्किएर त्यहाँ पुगेको दाबी गरे।
'हामीले खानतलासी मारेका होइनौं। एक जना व्यक्ति त्यहाँ लुकेर बसेको भन्ने सूचना आएको थियो। त्यसैका आधारमा प्रहरी गएको हो,' उनले भने। घटनाले राजनीतिक रूपसमेत लिएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा धनकुटाका सांसद राजेन्द्र राईले मन्त्री निवासमा प्रहरी पुगेको विषय उठाउँदै सरकारसँग जवाफ मागेका छन्।
'मन्त्री संखुवासभामा रहँदा उहाँको निवासमा प्रहरी पुगेर खानतलासी गर्ने काम किन भयो ? कसको आदेशमा भयो ? यसको जवाफ आउनुपर्छ,' उनले संसद्मा भने।
