कोशी सरकारको बजेटबारे के भन्छन् उद्योगी–व्यवसायी?

उद्योगी–व्यवसायीहरूले बजेटमा कृषि, उद्योग, पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम समेटिए पनि निजी क्षेत्रका दीर्घकालीन माग र आवश्यकतालाई पर्याप्त सम्बोधन गर्न नसकेको बताएका छन् ।

असार २, २०८३

पर्वत पोर्तेल

What do industrialists and businessmen say about the Koshi government's budget?

What you should know

विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि सोमबार सार्वजनिक गरेको बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया जनाएको छ ।

उद्योगी–व्यवसायीहरूले बजेटमा कृषि, उद्योग, पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम समेटिए पनि निजी क्षेत्रका दीर्घकालीन माग र आवश्यकतालाई पर्याप्त सम्बोधन गर्न नसकेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बजेटले स्थानीय उत्पादन, कृषि, उद्योग तथा सामाजिक सुरक्षाका विषयलाई प्राथमिकतामा राखेको बताए । स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा घरेलु उत्पादन प्रवर्द्धन गर्ने कार्यक्रम समावेश हुनु सकारात्मक पक्ष रहेको उनको भनाइ छ ।

तर, प्रदेशको आर्थिक रूपान्तरणका लागि कृषि उत्पादनको बजारीकरण, उत्पादक र उपभोक्ताबीचको पहुँच विस्तार तथा स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न थप स्पष्ट र प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनले बताए ।

सामाजिक सुरक्षा र विक्तीय समावेशीकरणका कार्यक्रमलाई परिणाममुखी बनाउँदै कार्यान्वयन पक्षलाई सुदृढ गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले बजेटमा समेटिएका नयाँ योजना तथा कार्यक्रम सफल बनाउन स्पष्ट कार्ययोजना, पर्याप्त स्रोत व्यवस्थापन र प्रभावकारी अनुगमन प्रणाली अपरिहार्य रहेको उल्लेख गरे । ‘समग्रमा बजेटले सकारात्मक संकेत दिएको छ । तर, उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा प्रदेशको आर्थिक रूपान्तरणका क्षेत्रमा अझ ठोस र परिणाममुखी कार्यक्रम आवश्यक देखिन्छ,’ राउतले भने । 

मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल शाहले प्रदेश सरकारको बजेटबाट निजी क्षेत्रले अहिलेसम्म प्रत्यक्ष लाभ अनुभव गर्न नसकेको टिप्पणी गरे ।  संघीयता कार्यान्वयनको एक दशक पूरा हुन लाग्दा पनि प्रदेशस्तरीय बजेटले उद्योग–व्यवसाय क्षेत्रलाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।

‘हरेक वर्षझैं यसपटक पनि कृषि, पर्यटन र उद्यमका विषय बजेटमा समेटिएका छन् ।  तर, निजी क्षेत्रको विकास र व्यवसायिक पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिइएको देखिएन,’ उनले भने । 

शाहले विराटनगरको बहुप्रतीक्षित रिङरोड परियोजना तीन दशकदेखि अलपत्र रहँदा पनि बजेटमा प्राथमिकता नपाएको गुनासो गरे । उद्योगी–व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएको प्रदर्शनीस्थल निर्माणको विषय पनि बजेटमा समावेश नभएको उनको भनाइ छ । ‘अन्य जिल्लामा उल्लेख्य बजेट विनियोजन भएको देखिए पनि प्रदेशको राजधानी तथा आर्थिक केन्द्र विराटनगरका महत्वपूर्ण परियोजनाले अपेक्षित प्राथमिकता पाएनन्,’ उनले गुनासो पोखे । 

मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समितिकी अध्यक्ष श्रुति शर्माले भने बजेटमा महिला उद्यमशीलता प्रवर्द्धनका लागि ठोस कार्यक्रमको अभाव रहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । 

उनका अनुसार महिला उद्यमीका लागि सीप विकास, उत्पादनमूलक तालिम तथा बजार व्यवस्थापनका कार्यक्रम पर्याप्त रूपमा समेटिएका छैनन् । ‘बजेटमा लैङ्गिक समानताका कुरा उल्लेख भए पनि महिलालाई उद्यम सञ्चालन गर्न आवश्यक सीप र क्षमता विकासका कार्यक्रम देखिएनन्,’ उनले भनिन् ।

युवा उद्यमीका लागि केही आकर्षक कार्यक्रम घोषणा गरिए पनि तिनको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने उनले बताइन् । नीति निर्माण र स्रोत वितरणमा महिलालाई अझै दोस्रो प्राथमिकतामा राख्ने प्रवृत्ति कायम रहेको अनुभूति भएको उल्लेख गर्दै शर्माले वर्तमान बजेटबाट महिला उद्यमीहरू उत्साहित हुन नसक्ने प्रतिक्रिया दिइन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully