चालुतर्फ १३ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ ।
विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ । त्यसैगरी वित्तीय समानीकरण अनुदानका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ । बजेटले प्रदेशको आर्थिक विकासलाई तीव्रता दिन, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न र नागरिकलाई गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न जोड दिएको छ ।
सरकारले चालु खर्चलाई नियन्त्रण गर्दै विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिने नीति अवलम्बन गरेको जनाएको छ। बजेटमार्फत सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य संस्था तथा शैक्षिक पूर्वाधार निर्माणका कार्यक्रमलाई निरन्तरता दिइएको छ।
