लगातार बाढी र पहिरोले क्षति पुर्याएपछि याङवरकले वर्षायामभर गोलिया कटान र ढुवानीमा रोक लगाएको हो ।
पाँचथर — बाढी र पहिरोको मार खेप्दै आएको याङवरक गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि भन्दै भदौसम्म गोलिया कटान र ओसारपसार गर्न रोक लगाएको छ ।
गाउँपालिकाले ‘गोलिया कटान तथा निकासी सडक निर्माण सम्बन्धी कार्यविधि, २०८२’ को व्यवस्था बमोजिम असार १५ देखि भदौ मसान्तसम्म पालिकाका भित्री सडकबाट गोलिया निकासीसँगै जुनसुकै क्षेत्रमा कटान नगर्न भनेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत सौगात शर्माले सार्वजनिक गरेको सूचनामा वर्षाको समयमा ग्रामीण सडक हिलाम्मे हुने, भारी सवारी साधन सञ्चालनका कारण सडक थप क्षतिग्रस्त हुने तथा सर्वसाधारणको आवागमन प्रभावित हुने भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ ।
याङवरक क्षेत्रका कच्ची सडकमा ठूलो भार क्षमताका सवारी र ढुवानी साधन साधन सञ्चालन हुँदा सडकको अवस्था बिग्रिने र यातायात सेवा अवरुद्ध हुने समस्या देखिएको छ । यसले स्थानीयको दैनिक आवागमन तथा सेवा प्रवाहमा समेत असर पुर्याउने भएकाले वर्षायामभर प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ ।
याङवरक बाढी र पहिरोको उच्च जोखिममा रहेको क्षेत्र हो । जहाँ २०८० असार २ यता पटकपटक आएको बाढी र पहिरोले ठूलो परिमाणमा सडक, बाली, पुलपुलेसा र भौतिक संरचनामा क्षति पुर्याएको छ । बाढी र पहिरोको जोखिम न्यूनीकरणका लागि पनि गोलिया कटान र ढुवानीमा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको हिलिहाङ गाउँपालिकाले यसअघि नै गोलिया कटान र ओसारपसार गर्न रोक लगाइसकेको छ ।
