जिल्ला अदालत संखुवासभाले कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा संलग्न सात प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
संखुवासभा — जिल्ला कारागार खाँदबारीभित्र दुई कैदीको सामूहिक कुटपिटपछि भएको हत्या प्रकरणमा अदालतले सात प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला अदालत संखुवासभाले उक्त घटनामा संलग्न देखिएका सुरक्षाकर्मी र कैदीबन्दीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो। जिल्ला अदालतका स्रेस्तेदार उज्वल न्यौपानेका अनुसार कारागारभित्र भएको अमानवीय कुटपिटका कारण दुई कैदीको ज्यान गएको पुष्टि भएपछि अदालतले सजाय सुनाएको हो।
२०८० साउन २४ मा मादी नगरपालिका–५ संखुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा परेका थिए।
अनुसन्धानका क्रममा उनीहरूलाई सुरक्षाकर्मीले प्रारम्भिक रूपमा कुटपिट गरेको र त्यसपछि केही कैदीबन्दीको समूहले समेत सामूहिक रूपमा आक्रमण गर्दा गम्भीर घाइते बनेका दुवै जनाको मृत्यु भएको थियो। कारागारभित्र सुरक्षाको जिम्मेवारीमा रहेका प्रहरीकै संलग्नता देखिएपछि निष्पक्ष अनुसन्धानको माग उठेको थियो।
