लप्सेखोलाको बाढीले बाटो बगाउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित लप्सेखोलामा बुधबार राती आएको बाढीले सडक बगाउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

जेष्ठ २८, २०८३

डम्बरसिं राई

Mid-hill highway blocked as Lapsekhola floods wash away road

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित लप्सेखोलामा बुधबार राती आएको बाढीले सडक बगाउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

सडकभन्दा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएको छ । अहिले उक्त ठाउँमा वारि–पारि गर्न सक्ने अवस्थासम्म नभएको स्थानीय शिक्षक दिलीप रोदुङले बताए । बाढीले सडक बन्नुअघिको अवस्थामा पुगेकाले सडक सुचारु हुन समय लाग्ने रोदुङको भनाइ छ ।

‘बाढीले बगाएर सडकको चिनो बानै छैन, सडक बन्नुभन्दा अघिको अवस्था जस्तो थियो त्यस्तै छ अहिले,’ रोदुङले भने, ‘चट्टानसहितको भीर खोल्नका लागि ब्रेकरले पनि सम्भव छैन, ग्याबिन जाली भरेर तलैदेखि निकाल्यो भने सडक बन्न सक्छ तर समय लाग्छ ।’

सडक अबरुद्ध भएपछि पूर्वका जिल्लाहरूबाट मध्यपहाडी हुँदै काठमाडौं जानेहरू अलपत्र परेका छन् भने पूर्व जानेहरू पनि बाटोमै रोकिएको प्रहरीले जनाएको छ । सडक सुचारु गराउन मध्यपहाडी लोकमार्ग र सडक विभागका प्राविधिक टोली उक्त ठाउँमा पुगेका छन् । 

दोबेला र निर्मलीडाँडाका प्रहरी लगायत स्थानीयले वारि–पारिबाट अनुगमन गरिरहेको स्थानीय कृष्णबहादुर बुढाथोकीले बताए । गत जेठ २२ गते पनि उक्त ठाउँमा बाढीले सडक बगाएको थियो । बगाएको भोलिपल्ट दिनभर लगाएर सडक सुचारु गरिएको थियो । उक्त ठाउँमा निर्माणाधीन पुल अलपत्र परेपछि सडक अवरुद्ध हुँदै आएको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully