सडक माथिबाट झरेको लेदोसहितको पहिरोले करिब ५० मिटर सडक बगाएको छ ।
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङखुखोला भनिने लप्सेखोलामा बुधबार राती आएको बाढीले सडक बगाउँदा मध्यपहाडी लोकमार्ग भई चल्ने यातायात अबरुद्ध भएको छ ।
सडक माथिबाट झरेको लेदोसहितको पहिरोले करिब ५० मिटर सडक बगाएको छ । अहिले उक्त ठाउँमा वारपार गर्न सक्ने अवस्थासम्म नभएको स्थानीय शिक्षक दिलीप रोदुङले बताए । सडक सुचारु हुन समय लाग्ने उनको भनाइ छ । ‘चट्टान सहितको भीर खोल्नका लागि ब्रेकरले पनि सम्भव छैन, ग्याबिन जाली भरेर तलैदेखि निकाल्यो भने सडक बन्न सक्छ तर समय लाग्छ,’ रोदुङ भन्छन् ।
सडक अबरुद्ध भएपछि मध्यपहाडी सडक हुँदै यात्रा गर्नेहरू अलपत्र परेका छन् । सडक सुचारु गराउन मध्यपहाडी लोकमार्ग र सडक विभागका प्राविधिक टोली लागिसकेको प्रहरीले जनाएको छ । दोबेला र निर्मलीडाँडा प्रहरीले वारि–पारिबाट पहिरोको निरिक्षण गरिरहेको स्थानीय कृष्णबहादुर बुढाथोकीले बताए ।
गत २२ जेठमा पनि बाढीले उक्त ठाउँको सडक बगाएको थियो । बगाएको भोलिपल्ट दिनभर लगाएर सडक सुचारु गरिएको थियो । उक्त ठाउँमा निर्माणाधीन पुल अलपत्र परेपछि सडक अबरुद्ध हुँदै आएको छ ।
