सूर्योदय नगरपालिकाले भारतीय चिया बोर्डबाट सिर्जित अवरोध तत्काल अन्त्य गरी नेपाली चिया निर्यातको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
झापा — इलामको सूर्योदय नगरपालिकाले नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन परराष्ट्र मन्त्रालयलाई भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय चिया बोर्डले लागू गरेको प्रक्रियाका कारण नेपाली चिया निर्यात पुनः प्रभावित भएको उल्लेख गरेका छन् ।
पत्रमा नेपालकै प्रमुख नगदे बाली तथा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा रहेको चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
नगरपालिकाका अनुसार भारतीय चिया बोर्डले गत वैशाखमा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म चिया निर्यात पूर्ण रूपमा प्रभावित भएको थियो । त्यसपछि प्रत्येक ट्रकको सट्टा ‘र्या२न्डम स्याम्पलिङ’ मात्र गर्ने सहमति भएपछि गत ६ जेठबाट निर्यात पुनः सुचारु भएको थियो ।
तर हाल पुनः भारतीय चिया बोर्डले कोलकातास्थित आयातकर्ताको गोदाममै पुगेर नेपाली चियाका प्रत्येक बोराबाट नमुना संकलन गरी परीक्षण गर्न थालेको नगरपालिकाले जनाएको छ । नमुना संकलन गरिएको एक साताभन्दा बढी समय बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएको र प्रतिवेदन नआएसम्म बिक्री–वितरणमा रोक लगाइएको पत्रमा उल्लेख छ ।
नगरपालिकाले यस प्रक्रियाका कारण करिब ५० हजार किलो नेपाली चिया भारतीय गोदाममै थन्किएको र गुणस्तरमा ह्रास आउने जोखिम बढेको जनाएको छ ।
पत्रमा यस्ता अव्यावहारिक तथा गैरभन्सार अवरोध (नन–ट्यारिफ बेरियर) ले नेपालको चिया उद्योग धराशायी हुने, हजारौं किसान तथा श्रमिकको रोजगारी प्रभावित हुने तथा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।
सूर्योदय नगरपालिकाले भारतीय चिया बोर्डबाट सिर्जित अवरोध तत्काल अन्त्य गरी पूर्ववत् सम्झौता र समझदारीअनुसार नेपाली चिया निर्यातको वातावरण सुनिश्चित गर्न नेपाल सरकारले भारत सरकारसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ ।
