दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढीमा निर्माणाधीन किराती सांस्कृतिक चुला घर विवादमा आएको छ । किराती संस्कृति अनुसार नभएपछि विवादमा आएको हो ।
What you should know
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढीमा निर्माणाधीन किराती सांस्कृतिक चुला घर विवादमा आएको छ । किराती संस्कृति अनुसार नभएपछि विवादमा आएको हो ।
मझुवा कालिका भगवती मन्दिर सौन्दर्यकरण शीर्षकमा प्रदेश सरकारको करिब ७९ लाख ५० हजारको लागतमा निर्माणाधीन विभिन्न संरचनाहरूमध्ये करिब १० लाख रूपैयाFको लागतमा निर्माण सुरु गरिएको चुला घर विवादमा आएपछि निर्माण कार्यसमेत रोकिएको छ ।
किराती संस्कृति अनुसार नभएपछि त्यसलाई भत्काएर बनाउनुपर्ने माग राख्दै सरोकारवाला पक्षले सोमबार नगरपालिकालाई संयुक्त रूपमा ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । मझुवागढी संरक्षण तथा पर्यटन प्रबर्द्धन समिति, नेपाल आदिवासी जनजाति महासंघ खोटाङ, किरात राई यायोक्खा खोटाङ र लाफेहछा सेवा समाजले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सरोकारवालपक्षसँग समन्वय नगरी निर्माण थालेकाले यो समस्या आएको मझुवागढी संरक्षण तथा पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष बबि चाम्लिङले बताए । ‘किराती संस्कृति अनुसारको चुला घर निर्माण नभएकाले त्यसलाई भत्काएर पुनः निर्माण गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण–पत्र बुझाइएको हो,’ चाम्लिङले भने ।
सरोकारवालाहरूको सल्लाह लिएर निर्माण गर्नुपर्नेमा त्यस्तो नभएकाले यो समस्या आएको र त्यसलाई पुनः निर्माण गर्नु पर्ने नेपाल आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष फुर्बा शेर्पाले बताएका छन् । ‘सांस्कृतिक पक्षसँग जोडिएको विषयमा सम्बन्धित सरोकारवालाहरूसँग बसेर काम गर्नुपर्थ्यो, त्यसो नहुँदा विवाद आएको हो,’ शेर्पाले भने, ‘यसलाई नगरपालिकाले पुनःनिर्माण गर्नुपर्छ ।’
उक्त योजनाको ठेक्का सुदेवी कन्स्ट्रक्शन सप्लायर्स एण्ड प्रालिले लिएको हो । चुलाघर लगायत सार्वजनिक सौचालय, कालिका भगवती मन्दिर अगाडिको आरसीसी सेर वाल, पार्क निर्माण लगायतका काम २०८३ असार ११ गतेभित्र सक्ने गरी गत फागुन २८ गते सम्झौता गरेको थियो । निर्माणमा संलग्न सुवाश तिलुङले भने नगरपालिकाले तयार पारेको डिजाइन स्टिमेट अनुसारै काम भएको बताए । उक्त विवादलाई तत्काल समाधान गर्ने पहल थालिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले जनाए ।
