जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा विमानस्थलभित्र सञ्चालित चार पसल तथा क्यान्टिनले एमआरपीभन्दा दोब्बरसम्म मूल्य लिएर सामान बिक्री गरेको पाइएपछि प्रत्येकलाई तीन/तीन लाख रुपैयाँ जरिवाना तिराइएको हो ।
विराटनगर — विराटनगर विमानस्थल परिसरभित्र रहेका पसल तथा क्यान्टिनहरूले उपभोक्तासँग अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा अत्यधिक मूल्य असुलेको भेटिएपछि प्रशासनले छड्के अनुगमन गर्दै चार व्यापारीलाई १२ लाख रुपैयाँ जरिवाना तिराएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा विमानस्थलभित्र सञ्चालित विभिन्न पसलले एमआरपीभन्दा दोब्बरसम्म मूल्य लिएर सामान बिक्री गरेको पाइएको हो।
अनुगमन टोलीका अनुसार बोर्डिङ कक्षमा सञ्चालित ममता होटलले एक सय रुपैयाँ मूल्यको डेरी मिल्क चकलेट दुई सय रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। त्यस्तै, एयरपोर्टको क्यान्टिन कक्षमा रहेको ग्यालेक्सी क्याफे एण्ड होटल प्रालिले ५० रुपैयाँ पर्ने कोकाकोला १ सय६० रुपैयाँमा बिक्री गरेको पाइएको थियो।
यस्तै, विमानस्थल परिसरमै सञ्चालित गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोला ८० रुपैयाँमा बिक्री गरेको तथा अनुकूल होटल एन्ड भान्साघरले ८ रुपैयाँ मूल्यको चकलेट १७ दशमलव ६९ रुपैयाँमा बिक्री गरेको अनुगमनमा खुलासा भएको छ।
उपभोक्तालाई ठगी हुने गरी एमआरपीभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि चारै व्यापारीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रत्येक व्यवसायीलाई तीन–तीन लाख रुपैयाँका दरले जरिवाना गरिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जनाए। जसबापत कुल १२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
