अहिलेसम्म कोशी प्रदेशको जिल्ला नेतृत्व तहमा दलित र महिला चयन हुन सकेका छैनन् ।
विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका १० जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको सांगठनिक विस्तार अभियानअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ जिल्ला सभापतिहरू चयन भएका हुन् । झापा, सुनसरीलगायतका केही जिल्लामा नेतृत्व चयनमा विवाद समेत भएको थियो ।
रास्वपा प्रदेश कार्यालयका अनुसार झापामा ओम भण्डारी, मोरङमा भरत कँडेल, सुनसरीमा सागर दाहाल, ताप्लेजुङमा राजनकुमार गुरुङ, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुङ्गामा कृष्णबहादुर थापा, खोटाङमा मुकुन्दकृष्ण थापा र सोलुखुम्बुमा नारायणकाजी कार्की जिल्ला सभापतिमा निर्वाचित भएका छन् । अहिलेसम्म कोशीको जिल्ला नेतृत्व तहमा दलित र महिला चयन हुन सकेका छैनन् ।
नयाँ नेतृत्व चयनसँगै रास्वपाले स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा अधिवेशनमार्फत नेतृत्व चयन भइरहेका कारण पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय बनेको रास्वपा झापाका सहसचिव भीम कुँवरले जनाए ।
रास्वपा कोशीको प्रदेश अधिवेशन जेठ २८ मा विराटनगरमा हुँदैछ ।कोशी प्रदेशमा १४ जिल्ला छन् ।
