किमाथांकामा नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध हुँदा स्थानीयले आफन्तसँग सम्पर्क, व्यवसाय र सूचनामा समस्या भोगिरहेका छन्।
संखुवासभा — चीनसँग सीमा जोडिएको संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकामा शुक्रबारदेखि नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि स्थानीय बासिन्दा सञ्चार समस्यामा परेका छन्।
वडाध्यक्ष नुर्पु च्यावाका अनुसार क्षेत्रभरि टेलिकमको फोरजी सेवा अचानक बन्द भएको छ। समस्या देखिएलगत्तै सम्बन्धित कार्यालयलाई जानकारी गराइएको र सेवा यथाशीघ्र सुचारु गरिदिन आग्रह गरिएको उनले बताए।
फोरजी सेवा बन्द भएपछि स्थानीय बासिन्दाले आफन्तसँग सम्पर्क गर्न, अनलाइन सेवा लिन तथा दैनिक सूचना आदान–प्रदान गर्न कठिनाइ भोगिरहेको उनले बताए ।
नेपाल–चीन सीमामा रहेको किमाथांका रणनीतिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ। यहाँ सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय मात्र होइन, सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण र व्यवसायीसमेत प्रभावित भएका छन्।
सदरमुकाम खाँदबारीबाट किमाथांका पुग्न करिब तीन दिनको पैदल तथा सवारी यात्रा गर्नुपर्ने भएकाले प्राविधिक समस्या समाधानमा ढिलाइ हुने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। बन्द भएको सञ्चार सेवा स्थानीयले सेवा चाँडो सुचारु गर्न स्थानीयले माग गरेका छन् ।
