चिउंखुवा खोलाको बाढीले कल्लेरी सडक अवरुद्ध, पाँचखपन–चैनपुर आवतजावत ठप्प

लगातार वर्षापछि आएको बाढीले संखुवासभाको चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जेष्ठ २३, २०८३

दीपेन्द्र शाक्य

Flooding in Chiunkhuwa River blocks Kalleri road, halts Panchkhapan-Chainpur movement

संखुवासभा — लगातार वर्षापछि आएको बाढीले संखुवासभाको चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान–करिब ४ बजे कल्लेरी क्षेत्रमा आएको चिउंखुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन ठप्प भएको हो ।

स्थानीयका अनुसार पाँचखपन नगरपालिका अन्तर्गत बिहीबारे, भैँसीचोक, पिपलडाँडा हुँदै चुङ्खुरुङ जाने सडक निर्माणको काम भइरहेका बेला खोलामा एक्कासी आएको बाढीले सडक बगाएको हो । बाढीका कारण चुङ्खुरुङतर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । हाल उक्त सडक भएर कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको छ ।

स्थानीय राजेश बस्नेतले कल्लेरी क्षेत्र वर्षौंदेखि जोखिममा रहेको बताउँदै दीर्घकालीन समाधान आवश्यक रहेको बताए । उनका अनुसार खोलासँगै कम्तीमा १५ देखि २० मिटर आसपासको भागमा बलियो संरचनासहितको रोकथामको व्यवस्था अनिवार्य गर्नुपर्छ ।

Flooding in Chiunkhuwa River blocks Kalleri road, halts Panchkhapan-Chainpur movement

स्थानीयवासीहरूले पनि अस्थायी मर्मतभन्दा दीर्घकालीन संरक्षणका उपाय अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले सडक सञ्चालनमा ल्याउन स्थानीय तह, सडक डिभिजन कार्यालय तथा अन्य सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिएका छन् । 

उनले मनसुन सक्रिय भएसँगै जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढिरहेको छ । मौसम प्रतिकूल रहेकाले स्थानीय प्रशासनले नदी तथा खोलानालाको आसपास सतर्क रहन र अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

दीपेन्द्र

Link copied successfully