दिखुवा खोला पुल निर्माणको कामै नगरी ठेक्का म्याद सकियो

सम्झौतापछि पेश्की लिएर पनि काम नगर्ने कम्पनीमाथि पूर्वाधार विकास कार्यालयले कालोसूचीमा राख्ने तयारी थालेको छ ।

जेष्ठ २२, २०८३

डम्बरसिं राई

The contract for the construction of the Dikhwa River Bridge has expired without any work being done.

What you should know

खोटाङ — पूर्वाधार विकास कार्यालय खोटाङले कामै नगरी म्याद गुजार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्नका लागि बैंक ग्यारेन्टी जफत गर्न पत्राचार गरेको छ । 

दिखुवा खोलाको पुल निर्माणको ठेक्का लिएर काम नगरी म्याद गुजार्ने अन्शुवी–नेपाल फूलबारी–पिंगला जेभी सुनसरीलाई कालो सूचीमा राख्नका लागि बैंक ग्यारेन्टी तान्न पत्राचार गरेको हो ।

उक्त निर्माण कम्पनीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको बीचमा पर्ने दिखुवा खोलामा ट्रस ब्रिज निर्माणको ठेक्का लिएको थियो । २ करोड ७० लाख २६ हजारको लागतमा २०८३ वैशाख २४ भित्र सक्ने गरी पूर्वाधार विकास कार्यालय खोटाङसँग २०८२ पुस २३ मा सम्झौता गरेको थियो । तर कामै नगरी म्याद गुजारेकाले बैंक ग्यारेन्टी तानेर कालोसूचीमा राख्न कृषि विकास बैंक काठमाडौंलाई बुधबार पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय प्रमुख विनम दाहालले बताए । ‘काम सक्नका लागि पटक–पटक ताकेता गर्दा समेत निर्माण कम्पनीको कुनै रेस्पोन्स नआएपछि कालोसूचीमा राख्ने प्रक्रिया थालेका छौं,’ दाहालले भने, ‘बैंक ग्यारेन्टी फिर्ता हुनासाथ ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया बढ्छ ।’

उक्त निर्माण कम्पनीले सम्झौता लगत्तै योजनाको कुल बजेटको २० प्रतिशत पेश्की लिएको थियो । पेश्की लिएपछि ठेकेदार सम्पर्कविहीन भएको दाहालले सुनाए । उनका अनुसार काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि सुरुमा २०८२ फागुन २८ र चैत १९ मा पत्राचार गरी तत्काल काम थाल्न अनुरोध गरिएको थियो ।

त्यसलाई बेवास्ता गर्दै कुनै प्रतिक्रिया नआएपछि २०८३ वैशाख ७ मा बैंक ग्यारेन्टी तान्न बैंकलाई पत्राचार गरिएको थियो । त्यसपछि भने निर्माणमा संलग्न वसन्त बुढाथोकी सम्पर्कमा आएका थिए । गत जेठ ४ मा कार्यालयमा उपस्थित भएर बुढाथोकीले असार २० भित्र काम सक्ने भन्दै निर्माण कार्यतालिकासहित प्रतिबद्धता गरेका थिए । त्यसका आधारमा असार २० सम्मका लागि म्याद थप गरिए पनि निर्माण व्यवसायीले काम नगरी बसेपछि कालोसूचीमा राख्नका लागि जेठ २० गते ३ दिनभित्र ग्यारेन्टी फिर्ता गर्न बैंकलाई पत्राचार गरिएको दाहालले सुनाए ।

उक्त पुलको प्रगति १ प्रतिशत पनि नदेखिएको पूर्वाधार विकास खोटाङले जनाएको छ । एक पट्टीको पिलरको जग खनेर रड मात्र बिच्छ्याएको दाहालले बताए । निर्माण सामग्री भने निर्माणस्थलमा ल्याइएको छ । निर्माणमा संलग्न ठेकदार वसन्त बुढाथोकीले भने पछिल्लो समय निर्वाचन, कामदारहरूको चाँड (इद)लगायतका कारण काम गर्न ढिलाई भएको बताए । ‘सम्झौता भएको ४ महिना त हुँदैछ, यो अवधिमा चुनाव, कामदारको चाँडले गर्दा काममा ढिलाइ भएको हो,’ बुढाथोकीले भने, ‘काम हुँदैछ, बर्खाअगाडि पिलर ठडाइयो भने ट्रष्टको काम त पानीमै पनि हुन्छ ।’ 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully