प्रहरीका अनुसार पोखरेल १४ वर्षअघि सुस्त मनस्थितिकी एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा चलेपछि फरार थिए ।
संखुवासभा — १४ वर्षअघि सुस्त मनस्थितिकी महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार जिल्ला अदालत संखुवासभाको २०७१ चैत २९ गतेको फैसला आदेशअनुसार जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी ५६ वर्षीय दोर्णप्रसाद पोखरेल पक्राउ परेका हुन् । डिएसपी कुमारप्रसाद मैनालीका अनुसार उनी साविक वाना गाविस–६, हाल पाँचखपन नगरपालिका–५ खमारेका बासिन्दा हुन्।
ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी वरिष्ठ हवल्दार सूर्यनारायण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका–७ क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पोखरेल १४ वर्षअघि सुस्त मनस्थितिकी एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा चलेपछि फरार थिए । अदालतले दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाए पनि फैसला कार्यान्वयन हुन नसकी उनी लामो समयदेखि फरार सूचीमा रहेका थिए ।
विशेष सूचनाका आधारमा खोजतलास तीव्र बनाएपछि प्रहरीले उनलाई मोरङबाट नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका पोखरेललाई संखुवासभा ल्याइएको छ भने कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ परेसँगै अदालतको फैसला कार्यान्वयनमा सहयोग पुगेको र पीडित पक्षले पनि न्यायको अनुभूति गर्ने विश्वास गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
