नोबेल मेडिकल कलेजका सूचना अधिकारी नवीन दाहाल भन्छन्- पहिले बीमामार्फत उपचार गराउने बिरामी धेरै थिए । अहिले बिरामी घटेको छन् । बीमा सुविधा नहुँदा धेरै विपन्न नागरिक उपचारबाटै वञ्चित हुने अवस्था सिर्जना भएको छ ।
What you should know
विराटनगर — सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेपछि मिर्गौला, मुटु, क्यान्सरलगायत दीर्घ तथा जटिल रोगका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन् । विशेषगरी नियमित उपचार र डाइलाइसिसमा निर्भर विपन्न परिवारहरू थप आर्थिक तथा मानसिक तनावमा परेका छन् ।
सुनसरीको इनरुवा–१ का प्रमोद पोद्दार तीन महिनादेखि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत नियमित डाइलाइसिस गराउँदै आएका थिए । सरकारको निर्णयसँगै नोबलले बीमामार्फत उक्त सेवा उपलब्ध नगराउने भनेसँगै उनी चिन्तित बनेका छन् ।
प्रमोदकी श्रीमती तोया भन्छिन्, ‘बिरामीलाई अर्को अस्पताल लैजान सक्ने अवस्था पनि छैन । पैसा तिरेर यहीँ उपचार गराउन सक्ने स्थिति पनि छैन । अब के गर्ने भनेर अन्योलमा छौं ।’
सरकारले आकस्मिक (इमर्जेन्सी) सेवामा भने निजीमा बीमा सुविधा यथावत रहने जनाएको छ । तर निजी अस्पतालहरूले आकस्मिक मात्रै हैन बीमाबाट कुनै पनि सेवा नदिने जनाएको सेवाग्राहीहरूको गुनासो छ । सरकारको निर्णय र निजी अस्पतालको अडाका कारण बिरामीका परिवार दोहोरो पीडाबाट गुज्रिरहेका छन् ।
साताको दुई दिन बिदा र बीमासम्बन्धी सरकारको निर्णयपछि अहिले सरकारी अस्पतालहरूमा बिरामीको चाप थेगिसक्नु छैन । विशेषगरी मिर्गौला डाइलासिस गराइरहेका बिरामीले पालो पाउने सम्भावना निकै कम छ ।
तोया भन्छिन्, ‘सरकारी अस्पतालमा डाइलाइसिसका लागि पालो पाउन निकै कठिन छ । पहुँच र पैसा नभएका बिरामीका लागि झन् समस्या छ ।’
सुनसरीको इटहरी–३ का ५२ वर्षीय विमल विकको अवस्था पनि पोद्दारको जस्तै छ । मिर्गौला रोगबाट पीडित उनी दुई महिनादेखि स्वास्थ्य बीमाकै सहायतामा नियमित डाइलाइसिस गराइरहेका थिए । स्वास्थ्य अवस्था जटिल हुँदा कहिलेकाहीँ आईसीयूमा समेत भर्ना गर्नुपर्ने हुन्थ्यो, यस खर्च बीमाले समेट्थ्यो । तर, बीमा सेवा बन्द भएपछि विपन्न दलित परिवारमाथि उपचार खर्चको ठूलो बोझ थपिएको छ । विमलका भतिजा राहुल भन्छन्, ‘दैनिक गुजारा चलाउनै कठिन भइरहेको अवस्थामा उपचार खर्च जुटाउन झन् समस्या भएको छ ।’
नोबेल मेडिकल कलेजका सूचना अधिकारी नवीन दाहालका अनुसार बीमा सेवा स्थगित भएपछि सबैभन्दा बढी असर आर्थिक रूपमा कमजोर वर्गमा परेको छ । ‘पहिले बीमामार्फत उपचार गराउने बिरामी धेरै थिए । अहिले बिरामी घटेको छ,’ उनले भने, ‘बीमा सुविधा नहुँदा धेरै विपन्न नागरिक उपचारबाटै वञ्चित हुने अवस्था सिर्जना भएको छ ।’
विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले निजी अस्पतालमा बीमा सेवा बन्द गर्ने सरकारको निर्णयले आमनागरिकको स्वास्थ्य पहुँचमा गम्भीर असर परेको बताए । ‘सरकारले सरोकारवालासँग पर्याप्त छलफल नगरी अचानक बन्द गर्ने निर्णय गर्यो,’ उनले भने, ‘यसबाट देशभरका ६० लाखभन्दा बढी बीमित प्रभावित बनेका छन् ।’
स्वास्थ्य अधिकारलाई आधारभुत नागरिक अधिकारका रूपमा स्थापित गरिएको अवस्थामा बीमा सेवा स्थगित हुँदा नियमित उपचारमा निर्भर हजारौं विपन्न बिरामी संकटमा परेका छन् । सरोकारवालाहरूले दीर्घरोगी तथा आर्थिक रूपमा कमजोर नागरिकको उपचार निरन्तरता सुनिश्चित हुने गरी तत्काल व्यावहारिक समाधान खोज्न सरकारसँग माग गरेका छन् ।
