४२ किलोमिटर टाढाबाट ल्याएको खाँदबारी खानेपानी आयोजना पुनः सञ्चालनमा

६ करोड ४७ लाख लागतमा पुनर्निर्माण सम्पन्न भएपछि करिब खाँदबारीका २५ सय उपभोक्ताले नियमित र सुरक्षित खानेपानी पाउने अपेक्षा गरिएको छ।

जेष्ठ १८, २०८३

दीपेन्द्र शाक्य

Khandbari Drinking Water Project, brought from 42 kilometers away, is back in operation

What you should know

संखुवासभा — लामो समयदेखि अवरुद्ध खाँदबारी क्षेत्रको खानेपानी आयोजना पुननिर्माण पछि सञ्चालनमा आएको छ।

खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित उक्त आयोजना ६ करोड ४७ लाख ५६ हजार ६०० रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको हो।

आयोजनाको खानेपानी मुहान माङ्सिमादेखि खाँदबारीसम्म फैलिएको ४२ किलोमिटर पाइपलाइनमध्ये २०.५ किलोमिटर लाइन पुनर्निर्माण गरिएको छ। चिचिला गाउँपालिकाको कुवापानीस्थित पानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) बाट पानी प्रवाह सुरु भएसँगै आयोजना सञ्चालनमा आएको हो।

पुनर्निर्माण सम्पन्न भएसँगै खाँदबारी नगरपालिकाका करिब २५ सय उपभोक्ताले नियमित, स्वच्छ र सुरक्षित खानेपानी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। नगरप्रमुख महेश्वर थपलियाले आयोजना पुनः सञ्चालनमा आउनु खाँदबारीवासीका लागि राहतको विषय भएको बताउँदै यसले वर्षौंदेखिको खानेपानी अभाव कम हुने बताए।

आयोजनाअन्तर्गत क्षतिग्रस्त मुख्य पाइपलाइन हटाएर नयाँ पाइप जडान गरिएको छ भने पानी प्रशोधन र वितरण प्रणालीलाई समेत आधुनिक र व्यवस्थित बनाइएको छ। यसबाट पानी चुहावट नियन्त्रण हुनुका साथै वितरण प्रणाली अझ प्रभावकारी बन्ने उनले बताए ।

खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाका अध्यक्ष दिव्यराज बरालका अनुसार पुनर्निर्माण सम्पन्न भएसँगै उपभोक्तालाई सहज र नियमित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य पूरा भएको छ। उनले आगामी दिनमा पनि सेवाको गुणस्तर सुधार र दिगो व्यवस्थापनमा संस्थाले विशेष ध्यान दिने बताए।

यसअघि चिचिलाको देउरालीदेखि खाँदबारीसम्म सडक विस्तार तथा निर्माणका क्रममा बिछ्याइएको मुख्य पाइपलाइन पूर्णरूपमा क्षतिग्रस्त भएपछि खानेपानी सेवा प्रभावित भएको थियो। त्यसपछि उपभोक्ताले लामो समयसम्म खानेपानी अभाव झेल्नुपरेको थियो।

माङ्सिमा खानेपानी आयोजनाको निर्माण कार्य २०७० सालमा सुरु भएको थियो। पटक–पटक गरी पाँच पटक म्याद थपिएपछि २०७४ पुसमा ४५ करोड १ लाख ५५ हजार रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको थियो। पुनर्निर्माणपछि आयोजना पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएकाले खाँदबारी क्षेत्रको खानेपानी व्यवस्थापनमा दीर्घकालीन सुधार आउने स्थानीयले आशा गरेका छन् ।

स्थानीयवासीले पनि आयोजना पुनः सञ्चालनमा आएसँगै दैनिक जीवन सहज बन्ने विश्वास व्यक्त गरेका छन्। स्वच्छ खानेपानी पहुँच विस्तारसँगै जनस्वास्थ्य सुधार, समय बचत तथा नगरवासीको जीवनस्तर उकास्न समेत यस आयोजनाले सकारात्मक प्रभाव पार्ने बरालले बताए ।

दीपेन्द्र

Link copied successfully