प्रभावित परिवारले तत्काल राहत, सुरक्षित आवास व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।
संखुवासभा —
निरन्तर वर्षापछि आएको पहिरो र जमिन चर्किने समस्या बढ्दै जाँदा संखुवासभाको मकालु गाउँपालिका–२ सेदुवाका दुई परिवार विस्थापित भएका छन् ।
पहिरो घरको आँगनसम्म आइपुगेपछि नरबहादुर चौहान र कृष्णबहादुर घिमिरेको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
स्थानीयका अनुसार घरअगाडिको डिलबाट पहिरो खस्न थालेपछि तीनतले जस्तापाताले छाएका घर उच्च जोखिममा परेका छन्। घर वरिपरि जमिन चर्किन थालेको र थप पहिरो खस्ने सम्भावना बढेपछि दुवै परिवार आफ्नै घरमा बस्न नसक्ने अवस्थामा पुगेका हुन्। हाल उनीहरू छिमेकीको घरमा अस्थायी रूपमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।
पहिरोले घर मात्र नभई आसपासको बस्तीसमेत जोखिममा पारेको स्थानीयवासीले बताएका छन्। वर्षायाम सुरु भएसँगै पहिरोको खतरा झन् बढ्न सक्ने भएकाले स्थानीय त्रसित बनेका छन्। प्रभावित परिवारले सम्बन्धित निकायसँग तत्काल राहत, सुरक्षित आवास व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।
स्थानीय जनप्रतिनिधिहरूले पनि घटनास्थलको अनुगमन गर्दै जोखिमग्रस्त क्षेत्रको अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्। मौसम प्रतिकूल रहेकाले थप सतर्कता अपनाउन र जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
सेदुवा क्षेत्रमा पछिल्ला वर्ष वर्षायामसँगै पहिरो र भूक्षयका घटना दोहोरिन थालेका छन्, जसका कारण स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुँदै आएको छ।
