माथिबाट पटक-पटक ठूलो परिमाणमा ढुङ्गा र माटो झरेर सडक पुरिएको छ, खुलाउने प्रयास जारी
संखुवासभा — भोटखोला गाउँपालिका-४ सिरेकस्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार दिउँसो राजमार्गभन्दा माथिल्लो भागबाट ठूला ढुङ्गा, माटो तथा गेग्रानसहितको पहिरो झरेपछि खाँदबारी–किमाथांका सडकखण्डमा सवारी आवतजावत ठप्प भएको हो।
प्रहरीका अनुसार पहिरोका कारण करिब १० देखि १५ मिटर सडक पुरिएको छ। सडकमाथिबाट एक्कासि ढुङ्गा र माटो खस्दा उक्त क्षेत्रमा यात्रा गरिरहेका सवारीसाधन तथा यात्रुहरू प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रमाद मैनालीका अनुसार पहिरो खसेको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय गरी सडक खुलाउने पहल भइरहेको उनले बताए।
माथिबाट पटक-पटक ढुङ्गा र माटो झरेर सडक पुरिएको छ। तत्काल प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय तह तथा सडकसम्बन्धी निकायसँग समन्वय गरेर अवरोध हटाउने काम अघि बढाइएको उनले बताए ।
कोशी राजमार्ग अन्तर्गत पर्ने खाँदबारी–किमाथांका सडकखण्ड संखुवासभाको प्रमुख यातायात मार्ग हो । सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
उत्तर-दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार पछिल्लो समय सडक आसपासका भिरालो क्षेत्रमा सुख्खा पहिरो खस्ने क्रम बढ्दो छ। सडकमाथिका कमजोर चट्टान र ढुङ्गा खस्ने जोखिम रहेकाले यात्रु तथा चालकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।
योजना कार्यालय तथा स्थानीय तहको समन्वयमा आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने तयारी भइरहेको जनाइएको छ।
