कटारी अस्पताल घटनाको वास्तविकता के हो ?

घटनाका विषयलाई लिएर अहिले सामाजिक सञ्जालदेखि लिएर बजारका चिया पसलहरुमासमेत विभिन्न कोणहरुबाट चर्चा भइरहेको छ ।

जेष्ठ १६, २०८३

राकेश नेपाली

What is the reality of the Katari Hospital incident?

What you should know

उदयपुर — चिकित्सकमाथि दुर्व्यवहार भन्दै सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै भाइरल छ । घटनाका विषयलाई लिएर अहिले सामाजिक सञ्जालदेखि लिएर बजारका चिया पसलहरुमासमेत विभिन्न कोणहरुबाट चर्चा भइरहेको छ । खास यो भिडियो उदयपुरको कटारी अस्पतालमा भएको एउटा घटनाको हो । 

भएको के थियो ?

सोमबार उदयपुरको कटारी नगरपालिका–२ गिद्धबारमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु भयो । सौगात एकेडेमी बोर्डिङ स्कुलको बस विद्यार्थी लिन कटारी नगरपालिका–१ बेलसोततर्फ जाँदै गर्दा सह–चालक कटारी नगरपालिका–२ का ३१ वर्षीय उत्तम थापा बसबाट खसेर गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई कटारी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । 

मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा रहेको बेला केही प्राविधिक कारणलाई लिएर आफन्त र स्थानीयहरु आक्रोशित बनेका थिए । गर्मी महिना भएकाले शव संरक्षणका लागि प्रयोग गरिने रेफ्रिजेरेटर (फ्रिज) प्रयोगविहीन अवस्थामा रहेका कारण शवबाट गन्ध आउन थालेको थियो ।

अस्पतालको व्यवस्थापनको विषयलाई लिएर आफन्त र स्थानीयहरुले अस्पतालका प्रमुख चिकित्सक गौरव साहसँग गुनासो पोखेका थिए । साहले विद्युत् आपूर्तिको समस्याका कारण फ्रिज बिग्रिएको र मर्मतको प्रयास भइरहेको बताएका थिए । तर, परिवारको सदस्य गुमाएको आक्रोशमा आफन्तसहित स्थानीयहरुले डाक्टर साहसँग केहीबेर नोकझोँक गरेका थिए । 

What is the reality of the Katari Hospital incident?

भिड शान्त नभएपछि डा. साहले ‘तपाईहरुको आफन्तको शव यहाँ नराख्नुस् त्यसो भए, कता लैजाने हो लैजानुस्’ भनेका थिए । त्यसपछि भिड झन आक्रोशित भयो र मृतकका आफन्तहरुले शव पोष्टमार्टम गृहबाट झिकेर इमरजेन्सी वार्डमा लगेर राखिदिए । त्यपछि अस्पतालका कर्मचारी, चिकित्सक र डा. साहले शव इमरजेन्सी वार्डमा राख्ने हो, किन यसो गरेको भन्दै आफन्त र स्थानीयहरुसँग प्रश्न गरे । आफन्त र स्थानीयहरु झन् आक्रोशित भए । अस्पताल परिसर केहीबेर तनावग्रस्त बन्यो ।

विवाद बढ्दै गएपछि प्रहरीले भिडलाई साम्य पार्‍यो । अस्पतालको एउटा प्राविधिक समस्याको विषयलाई लिएर आफूमाथि दुर्व्यवहार गरिएको भन्दै अब उपारान्त कटारी अस्पतालमा कार्यरत नरहने भन्दै प्रमुख साहले सामाजिक सञ्जालमा गुनासो पोखे । घटनालाई केही व्यक्तिहरुले आफ्ना स्वार्थ पूरा गर्न राजनीतिकरण गरिएको र चिकित्सकको मनोबल कमजोर बनाउनेगरी हातपातकोसमेत प्रयास भएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी उमेन्द्र खरेलले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र बस चालक कटारी नगरपालिका–२ का ४८ वर्षीय छत्रबहादुर कार्कीलाई नियन्त्रणमा लिइएको बताए । घटनाका विषयमा विभिन्न कोणबाट बहस भइरहे पनि सरोकारवाला सबै पक्षहरुसँग छलफल गरेर समाधानको प्रयास भइरहेको र अस्पतालको सेवाप्रवाहको वातावरण बिग्रिन नदिइने मेयर राजेशचन्द्र श्रेष्ठले बताए । आफूमाथि नियोजित रुपमा दुर्व्यवहार भएको भन्दै अस्पताल प्रमुख साहले भने अब कटारी अस्पतालमा कार्यरत नरहने बताएका छन् ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully