बुधबार दिक्तेलमा आयोजित कार्यक्रममा घाइतेहरूले २५ वर्षसम्म पनि राज्यले बेवास्ता गरेको उल्लेख गर्दै राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको क्षतिपूर्तिसमेत नपाएको गुनासो गरे ।
What you should know
खोटाङ — लाउडा विमान खरिदको विरोधका क्रममा दिक्तेलमा प्रहरीको गोलीबाट घाइते भएकाहरूले राज्यबाट क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । उक्त गोली काण्डको २५ वर्ष पुगेको सन्दर्भमा दिक्तेलमा आयोजित अन्तरक्रिया तथा पुनर्मिलन कार्यक्रममा घाइतेले उक्त गुनासो गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले लाउडा विमान खरिदमा अनियमितता गरेको भन्दै देशभर चलेको आन्दोलनका सिलसिलामा दिक्तेलमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर चार जना घाइते भएका थिए ।
नेकपा एमालेलगायत ६ वाम घटकले २०५८ जेठ १३ गते दिक्तेल बजारमा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय नजिक जुलुसमाथि लाठी चार्ज र त्यसपछि गोली चलाउँदा केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका ८ वर्षीय प्रताप राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ११ वर्षीय विद्यामणि तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल र सोल्माका दीपेन्द्र राई घाइते भएका थिए । उपचारकै क्रममा प्रताप राईको घटनाको चार वर्षपछि मृत्यु भएको थियो ।
उनीहरूमध्ये दीपनारायण र दीपेन्द्र विद्यार्थी राजनीतिमा सक्रिय थिए । त्यतिखेर दीपेन्द्र राईको देब्रे खुट्टाको घुँडापछाडि र दाहिने खुट्टाको पाइतालामा, रिजालको देब्रे खुट्टामा, विद्यामणि तामाङको देब्रे खुट्टामा र प्रताप राईको दाइने पाखुरामा गोली लागेको थियो । उनीहरूमध्ये विद्यामणि दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ६ र ८ वर्षीय प्रताप उक्त स्कुलमै यूकेजीमा अध्ययन गर्थे ।
बुधबार दिक्तेलमा आयोजित कार्यक्रममा घाइतेहरूले २५ वर्षसम्म पनि राज्यले बेवास्ता गरेको उल्लेख गर्दै राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको क्षतिपूर्तिसमेत नपाएको गुनासो गरे । राष्ट्रिय मानवअधिकार आयोगले २०७९ वैशाख ८ गते राज्यलाई दोषी ठहर्याउँदै उक्त घटनामा घाइते भएकाहरूलाई जनही एक लाख रुपैयाँका दरले क्षतिपूर्ति दिन सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको घाइते दीपेन्द्र राईले बताए ।
लाउडा काण्डमा गोली चलेको २५ वर्ष पुगेको सन्दर्भ पारेर बुधबार दिक्तेलस्थित शुभदिन होटलमा अन्तरक्रिया तथा पुनर्मिलन कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा घाइते तथा घाइतेका परिवार, उक्त आन्दोलनमा सहभागी भएकाहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
