काम नगर्ने निर्माण कम्पनीको बैंक ग्यारेन्टी जफत गर्न पत्राचार

विभिन्न ९ योजनाहरूको सम्झौता गरी काम नगर्ने निर्माण कम्पनीहरूको बैंक धरौटी जफतका लागि पत्राचार गरिएको हो ।

जेष्ठ १३, २०८३

डम्बरसिं राई

Letter to seize bank guarantee of non-performing construction company

What you should know

खोटाङ — पूर्वाधार विकास कार्यालय खोटाङले काम नगर्ने निर्माण कम्पनीहरूको बैंक ग्यारेन्टी जफतका लागि पत्राचार गरेको छ । विभिन्न ९ योजनाहरूको सम्झौता गरी काम नगर्ने निर्माण कम्पनीहरूको बैंक धरौटी जफतका लागि पत्राचार गरिएको हो ।

कार्यालयका सूचना अधिकारी राजत पोखरेलअनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित दुईचुप्ला हुँदै बुतेपाछाको साकेलाथान हुँदै मुढेटोल सडक निर्माण, साकेला गाउँपालिका–५ बरडाँडा पलंका तावादोभान टुकुरे दोभान हुँदै दिखुवा दोभान सडक निर्माण र भगरपुरदेखि कुरिमा सडक योजना साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको ठेक्का लिने सेल्मे कन्स्ट्रक्सन खोटाङको बैंक ग्यारेन्टी तान्न ५ जेठमा पत्राचार गरेको हो । 

ती निर्माण कम्पनीहरूको नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले बताए । यसमध्ये १५ लाख ८७ हजार रूपैयाँको लागतमा २०८३ जेठ ३१ गतेभित्र सक्ने गरी दुईचुप्ला-बुतेपाछाको साकेलाथान हुँदै मुढेटोल सडक २०८२ माघ ११ गते निर्माण सम्झौता भएको थियो । १५ लाख ७६ हजारको लागतमा २०८३ जेठ ३१ गते सक्ने गरी बरडाँडा पलंका तावादोभान टुकुरे दोभान हुँदै दिखुवा दोभान सडक निर्माणको २०८२ फागुन ५ गते सम्झौता भएको थियो । त्यस्तै २८ लाख ७३ हजार रूपैयाँको लागतमा २०८३ जेठ ३१ मै सक्ने गरी भगरपुरदेखि कुरिमा सडक योजनाको पनि सम्झौता भएको थियो । 

त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी–१३ नुनथालामा पर्ने मूलडाँडा–गैरी चामखर्क सडक स्तरोन्नति र हलेसी तुवाचुङको राजापानी धितुङ हलेसी सडकअन्तर्गत एक्लेबर जोरकुवा पन्थे सडक स्तरोन्नति योजनाको ठेक्का लिने राना साम्पाङ कन्स्ट्रक्सन प्रालिको बैंक ग्यारेन्टी तान्नका लागि नेपाल बैंक लिमिटेडलाई जेठ ५ मै पत्राचार गरिएको राउतले जनाए । यसमध्ये मूलडाँडा–गैरी चामखर्क सडक स्तरोन्नति १५ लाख १७ हजार रूपैयाँको लागतमा जेठ ३१ गते सक्ने गरी र हलेसी तुवाचुङको राजापानी धितुङ–हलेसी–सडकअन्तर्गत एक्लेबर जोरकुवा पन्थे सडक स्तरोन्नति योजना१८ लाख ४९ हजार रूपैयाँको लागतमा जेठ ३१ गते सक्ने गरी २०८२ माघ १९ गते सम्झौता भएको थियो ।

त्यस्तै दिक्तेल रूपाकोट मझुवागढी–७ दोर्पा चिउरीडाँडास्थित मेवाखोला दुम्ली दोबेला सडक स्तरोन्नतिको ठेक्का लिने एसआर दोर्पा जेभी खोटाङको धरौटी तान्नका लागि जेठ ५ गते नै कृषि विकास बैंक दिक्तेललाई पत्राचार गरेको छ । उक्त निर्माण कम्पनीले ३९ लाख २९ हजार रूपैयाँको लागतमा जेठ ३१ गते सक्ने गरी गत फागुन २८ गते सम्झौता गरेको थियो ।

त्यसैगरी केपिलासगढी गाउँपालिका–१ फेदीस्थित फेदी–धोद्रे सडक स्तरोन्नतिको ठेक्का लिने विश्वहाङ कन्स्ट्रक्सनको धरौटी जफत गर्न माछापुच्छ्रे बैंक टेम्के मैयुङ शाखा भोजपुरलाई जेठ ५ मै पत्राचार गरिएको छ । १८ लाख ३३ हजार रूपैयाँको लागतमा आगामी जेठ ३१ गते सक्ने गरी गत माघ ६ गते सम्झौता भएको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित पोखरे जामुने साँगुटार सडक स्तरोन्नतिको जिम्मा लिने इमो बिल्डर्स् प्राइभेट लिमिटेड खोटाङ, उक्त गाउँपालिका–४ बतासेस्थित जगन्नटार वारेम्तुङ हुँदै मुसुरीडाँडासम्म सडक स्तरोन्नतिको ठेक्का लिने पिनाकल इन्जिनियरिङ प्राइभेट लिमिटेड भक्तपुर र हलेसी तुवाचुङ नगरपालिकास्थित चुलिमापे सडक निर्माणको ठेक्का लिने पिके निर्माण सेवा कटारी उदयपुरलाई समेत मंगलबार पत्राचार गरिएको छ । यसमध्ये इमो बिल्डर्स् प्राइभेट लिमिटेड खोटाङको नेपाल बैंक लिमिटेड दिक्तेल शाखा, पिनाकल इन्जिनियरिङ प्राइभेट लिमिटेडको राष्ट्रिय वाणिज्य बैंक ठिमी शाखा, पिके निर्माण सेवा कटारी उदयपुरको ग्लोबल आइएमइ बैंक दिक्तेल शाखालाई पत्राचार गरिएको हो । 

पोखरे जामुने सागुटार सडक स्तरोन्नति २३ लाख ७१ रूपैयाँको लागतमा जेठ ३१ गतेभित्र सक्ने गरी गत माघ १९ गते, जगन्नटार वारेम्तुङ हुँदै मुसुरीडाँडासम्म सडक स्तरोन्नति १२ लाख ४७ हजार रूपैयाँको लागतमा जेठ ३१ गतेभित्र सक्ने गरी गत माघ ६ गते र चुलिमापे सडक निर्माण १७ लाख ४३ हजार रूपैयाँको लागतमा जेठ ३१ गतेभित्र सक्ने गरी माघ २३ गते सम्झौता भएको थियो । 

निर्माण अवधि सकिनै लाग्दा पनि काम नथालेपछि बैंक ग्यारेन्टी तान्नका लागि सम्बन्धित बैंकहरूलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । यीमध्ये केही काम सुरु भएको पोखरेलले बताए । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully