हावाहुरीसँगै परेको चट्याङका कारण गौरादह नगरपालिका–८ बैराती टोलका इन्द्रमणि प्रसाईंका दुईवटा घरमा आगलागी भएको छ भने पूर्णमाया पनेरु चापागाईंको घरको टिनको छाना उडाइदिएको छ ।
What you should know
विराटनगर — शुक्रबार रातिको हावाहुरी, वर्षा र चट्याङका कारण झापाका विभिन्न स्थानमा व्यापक क्षति भएको छ । घर, कुखुरा फार्म, उद्योग, विद्युत् संरचना र सवारीसाधनमा लाखौं रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्लाको गौरादह नगरपालिका–७ डाँडागाउँमा पर्शुराम दाहालको कुखुरा फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पक्की पिलर, टिनको छानो, काठको प्लाइ र तारजालीले बनेको फार्ममा हावाहुरीले क्षति पुर्याउँदा २५ वटा ब्रोइलर कुखुरा मरेका छन् । घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
हल्दीबारी गाउँपालिका–२ मा हावाहुरीले तीन परिवारका घरका छाना उडाएको छ । चरण बास्केको फुसको छाना भएको घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा २० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । फूलकुमारी केरुङको डेढ तले पक्की घरको टिनको छाना उडाउँदा ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ भने सुद्ला राजवंशीको घरको छाना उड्दा २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गौरादह नगरपालिका–६, सगरमाथा टोलका श्यामलाल बेस्राको तीनकोठे घरको छाना उडाउँदा करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोही वडाको निर्मला चोकमा हुकुमसिंह राईको घरको छाना उडेर ६० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । आरतीनगरका मानबहादुर पराजुलीको भान्सा घरको छाना उडेर भित्र राखिएको २० मन धान र २० मन मकै भिज्दा करिब ८० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।
हल्दीबारी गाउँपालिका–५ धनुषटोलकी पूर्णमाया पनेरु चापागाईंको घरको टिनको छाना उड्दा २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
हावाहुरीसँगै परेको चट्याङका कारण गौरादह नगरपालिका–८ बैराती टोलका इन्द्रमणि प्रसाईंका दुईवटा घरमा आगलागी भएको छ । चट्याङ पर्दा घरभित्र रहेका सातवटा सिलिङ पंखा, १२ वटा बल्ब, फ्रिज, ६३ इन्चको टेलिभिजन, सोलार, विद्युत् मिटर, तार तथा कागजात जल्दा करिब १ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिका–१० मा गुणराज थापाले सञ्चालन गरेको गरिमा इँटाभट्टाको भवनमा पनि हावाहुरीले क्षति पुर्याएको छ । इँटाको गारो, फलामको ट्रस र टिनको छानोले बनेको भवनको छानो उखेलेर पल्टाइदिएको प्रहरीले जनाएको छ ।
बिर्तामोड क्षेत्रमा हावाहुरीले विद्युत् पोल ढाल्दा सडक अवरुद्ध भएको छ । बिर्तामोड–३ विराट आदर्शटोल र वडा नम्बर ८ त्रिवेणीचोकमा बिजुलीका पोल ढलेका थिए । वडा नम्बर ६ स्यालडाँगी र स्टाफ चोक क्षेत्रमा पनि पाँचवटा विद्युत् पोल ढलेका थिए । पोल ढलेका कारण झापाका विभन्न स्थानमा अझै विद्युत् आपूर्ति सहज बन्न सकेको छैन ।
बिर्तामोड–३ खुकुरीचोकमा रोहित खड्काको घरमा पीपलको रुख ढलेर आंशिक क्षति पुगेको छ भने बिर्तामोड–४ परोपकार टोलमा सडकमा रुख ढलेपछि स्थानीयले काटेर सडक सञ्चालन गरेका थिए ।
बाह्रदशी गाउँपालिका–५ मागुगाउँका पृथ्वीलाल राजवंशीको घरको टिनको छानो हावाले उडाउँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
मेचीनगर नगरपालिका–१५ गाइनाबारीमा किशोर क्षेत्रीले सञ्चालन गरेको जय माँ कामाक्षा इन्डस्ट्रिज प्रालिको गोदाम र मेसको जस्तापाताको छाना उड्दा करिब तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
मेचीनगर–८ इँटाभट्टास्थित सूर्योदय यातायात कम्पनीको पार्किङ भवनको जस्तापाताको छाना उडेर पार्किङमा रहेका दुईवटा बसको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।
हावाहुरीपछि विभिन्न स्थानमा ढलेका पोल र रुख हटाउने तथा सडक सञ्चालन गर्ने काम स्थानीय र सुरक्षाकर्मीले जारी राखेका छन् ।
