बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति, चार परिवार विस्थापित, १५ घर जोखिममा

बाढीले याङवरक–२ मेवाखोलामा सञ्चालनरत हरिदुलय मेवाखोला जलविद्युत् आयोजना र पाँचथर–ताप्लेजुङ सीमानामा सञ्चालित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खाल भत्काएको छ ।

जेष्ठ १०, २०८३

लक्ष्मी गौतम

Floods damage four hydropower projects, displace four families, and put 15 homes at risk

पाँचथर — जेठ ८ गते साँझ पाँचथरको याङवरक गाउँपालिकामा भएको आरिघोप्टे वर्षापछि आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन हुन थालेको छ । यो समाचार तयार पार्दा (आइतबार विहान १० बजे) सम्म संकलन भएको तथ्यांक अनुसार बाढीका कारण याङवरक क्षेत्रमा सञ्चालनमा रहेका चारवटा जलविद्युत् आयोजनामा क्षति पुग्दा उत्पादन उत्पादन प्रभावित भएको छ ।

बाढीले याङवरक–२ मेवाखोलामा सञ्चालनरत हरिदुलय मेवाखोला जलविद्युत् आयोजना र पाँचथर–ताप्लेजुङ सीमानामा सञ्चालित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खाल भत्काएको छ ।

यस्तै काबेली खोलामा रहेको अरुण काबेली जलविद्युत् आयोजनामा पनि क्षति पुग्दा पुर्‍याएपछि विद्युत् उत्पादन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

बाढीले तमोर करिडोर अन्तर्गत निर्माणाधीन लिम्बूनी पुलको संरचना बगाएको छ । पाँचथरका हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन उक्त पुल निर्माणका लागि ल्याइएका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन र फलामे पाइपसहितका सामग्री बाढीले बगाएको निर्माणको जिम्मेवारी लिएको याक्थुङहाङ निर्माण सेवा प्रालिका सञ्चालक तेजकुमार कुरुम्वाङले बताए ।

यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत याङवरक–२ दोभानेमा मेवा खोलामाथि निर्माणाधीन सडक पुल पनि बगेको छ । यो पुलसँगै सडक र डाइभर्सन बगाएपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो झरेपछि मध्यपहाडी राजमार्गको ओयाम बजार–रिजाल भिर खण्डमा २ दिनदेखि जारी अवरोध अझै जारी छ ।

बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुंगे पुल तथा याङवरक–२ दोभानेस्थित अर्को झोलुंगे पुलमा समेत क्षति पुर्‍याएको छ ।

चार परिवारका चार परिवार विस्थापित, १५ घर जोखिममा

पहिरोले याङवरक गाउँपालिका–१ मा चार परिवार विस्थापित भएका छन् । लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको घर पहिरोले बगाएको हो । मोहनलाल र कबिरको परिवारका ७ जना आफन्त शान्ता खवासको घरमा आश्रय लिएर बसेका छन् भने गंगाप्रसादको ६ जनाको परिवार दाजु दुर्गा बेघाको घरमा बसिरहेको प्रहरीले जनाएको छ ।

सोही स्थानका भगीमान बेघाको घर उच्च जोखिममा परेपछि उनका परिवारका ६ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढी–पहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडााडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैंची बगान सँगै खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ ।

बाढी–पहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्‍याएको छ । क्षतिको विवरण संकलन गर्ने क्रम जारी रहेको र मूल्यांकन हुन बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully