मकालु गाउँपालिका–५ फोक्टेस्थित पाखुरी खोलामा गएराति आएको बाढीले चरनमा रहेका स्थानीय दलबहादुर गुरुङका २ सय १८ भेडा बगाएको हो।
संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेस्थित पाखुरी खोलामा गएराति आएको बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले चरनमा रहेका स्थानीय दलबहादुर गुरुङका २ सय १८ भेडा बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार राति करिब २ बजे आएको बाढी तथा पहिरोले गुरुङका २ सय ५० वटा भेडामध्ये २ सय १८ बेपत्ता भएका छन्। हालसम्म ३२ वटा भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्।
संखुवासभाका प्रहरी प्रमुख डिएसपी कुमारप्रसाद मैनालीका अनुसार बेपत्ता भेडाको खोजी जारी रहेको छ।
घटनाबारे प्रहरी चौकी नुममा जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो । भेडा रेखदेख गर्न गएका झलक गुरुङको हातखुट्टामा सामान्य चोटपटक लागेको डीएसपी मैनालीले बताए । नुमबाट करिब ४० किलोमिटर दूरीमा रहेको घटनास्थलसम्म पुग्न पैदल १० घण्टा लाग्ने उनले बताए ।
लगातारको वर्षासँगै पहाडी क्षेत्रमा बाढीपहिरोको जोखिम बढ्दै गएकाले स्थानीयलाई सतर्क रहन पनि प्रहरीले आग्रह गरेको छ।
