उपसचिवतर्फ परराष्ट्र सेवाको खुला प्रतिस्पर्धामा भद्रपुरकी गङ्गा सुन्दास पहिलो योग्यताक्रममा सफल भएकी छन् ।
विराटनगर — लोक सेवा आयोगद्वारा यस वर्ष प्रकाशित नतिजाअनुसार प्रशासनिक क्षेत्रमा झापाले फड्को मारेको छ। अत्यन्त प्रतिस्पर्धात्मक मानिने निजामती सेवाको उच्च तहमा झापाबाट एकै वर्ष तीन जना सहसचिव र तीन जना उपसचिव सिफारिस भएका छन् ।
राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहको विज्ञापनअन्तर्गत आन्तरिक प्रतियोगितातर्फ भद्रपुरका डा डिजन भट्टराई पहिलो योग्यताक्रममा सिफारिस भएका छन् । खुला प्रतियोगितातर्फ गौरीगञ्ज झापाका विजयकुमार शर्मा पनि पहिलो नम्बरमै सिफारिस भएका छन् ।त्यसैगरी कमल गाउँपालिकाका तीर्थराज राईसमेत प्रशासन सेवाको सहसचिव पदमा सिफारिस भएका हुन् ।
त्यस्तै उपसचिवतर्फ परराष्ट्र सेवाको खुला प्रतिस्पर्धामा भद्रपुरकी गङ्गा सुन्दास पहिलो योग्यताक्रममा सफल भएकी छन् ।
राजस्व समूहमा झापाकै खगेन्द्र बर्देवा तथा प्रशासन समूहमा अर्जुनधाराका पर्वत गिरी पनि खुला प्रतियोगितात्मक परीक्षाबाट उपसचिव पदमा सिफारिस भएका हुन् ।उपसचिवद्वय सुन्दास र बर्देवा एकै परिवारका नातेदारसमेत हुन् ।
